काठमाडौँ– आतंकवादका कारण पीडित बनेका व्यक्ति तथा परिवारको सम्झना र सम्मान मात्र होइन, उनीहरूको अधिकार, न्याय र आवश्यकताको सुनिश्चिततामा जोड दिँदै आज ‘आतंकवादका पीडितको सम्झना र सम्मानको अन्तर्राष्ट्रिय दिवस’ मनाइँदैछ।
आतंकवादका घटनाबाट प्रत्यक्ष प्रभावित व्यक्ति तथा परिवारले भोग्नुपरेका शारीरिक, मानसिक, सामाजिक र आर्थिक पीडालाई सम्बोधन गर्नुपर्ने सन्देशसहित यो दिवस मनाउने गरिन्छ। संयुक्त राष्ट्रसंघको महासभाले सन् २०१७ मा प्रत्येक वर्ष अगस्ट २१ लाई यो दिवसका रूपमा मनाउने निर्णय गरेको थियो।
दिवसको मुख्य उद्देश्य आतंकवादका पीडित तथा बाँचेकाहरूको सम्मान गर्नुका साथै उनीहरूको मानव अधिकार र मौलिक स्वतन्त्रताको पूर्ण उपभोग सुनिश्चित गर्नु हो। पीडितलाई केवल सहानुभूति दिनेभन्दा पनि उनीहरूको अधिकार संरक्षण, न्यायमा पहुँच र आवश्यक सहयोग उपलब्ध गराउन अन्तर्राष्ट्रिय समुदायलाई जिम्मेवार बनाउने प्रयासका रूपमा दिवसलाई लिइएको छ।
संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले सन् २०२० मा सार्वजनिक गरेको प्रतिवेदनमा पनि आतंकवादका पीडितलाई सहयोग गर्न अन्तर्राष्ट्रिय सहकार्य बढाउनुपर्नेमा जोड दिइएको थियो। आतंकवादविरुद्धको विश्वव्यापी रणनीतिको द्विवार्षिक समीक्षाका क्रममा सदस्य राष्ट्रहरूले हिंसात्मक अतिवाद रोकथाम, अन्तर्राष्ट्रिय ऐक्यबद्धता र पीडितका मानव अधिकार संरक्षणलाई प्राथमिकतामा राख्दै आएका छन्।
सन् २०१८ मा रणनीतिको छैटौँ समीक्षा भएयता आतंकवादका पीडितप्रतिको सहयोग औपचारिक ऐक्यबद्धताबाट अघि बढेर उनीहरूको अधिकार र वास्तविक आवश्यकतालाई सम्बोधन गर्ने दिशामा केन्द्रित भएको संयुक्त राष्ट्रसंघले जनाएको छ। सन् २०१९ मा ‘ग्रुप अफ फ्रेन्ड्स अफ भिक्टिम्स अफ टेरोरिजम’ स्थापना हुनु तथा पीडितलाई सहयोगसम्बन्धी महासभाको प्रस्ताव पारित हुनु यसका महत्वपूर्ण उदाहरण हुन्।
त्यस्तै, सन् २०२३ जुन २२ मा पारित महासभाको आठौँ समीक्षा प्रस्तावले महिला, बालबालिका तथा आतंकवादी हिंसाबाट हुने यौन र लैङ्गिक हिंसाबाट प्रभावित व्यक्तिका अधिकार संरक्षणमा विशेष जोड दिएको छ। प्रस्तावले पीडित तथा उनीहरूका परिवारका तत्कालीन, अल्पकालीन र दीर्घकालीन आवश्यकता सम्बोधन गर्न राष्ट्रियस्तरमा समग्र सहायता योजना बनाउन सदस्य राष्ट्रलाई प्रोत्साहित गरेको छ।
संयुक्त राष्ट्रसंघले पीडितको आवाजलाई अन्तर्राष्ट्रिय तहमा प्राथमिकता दिन विभिन्न पहलसमेत अघि बढाएको छ। सन् २०२२ सेप्टेम्बरमा राष्ट्रसंघको मुख्यालयमा पहिलो विश्वव्यापी आतंकवाद पीडित सम्मेलन आयोजना गरिएको थियो। राष्ट्रसंघीय आतंकवादप्रतिरोध कार्यालयले विश्वव्यापी पीडित सहायता कार्यक्रम तथा ‘युनाइटेड नेसन्स भिक्टिम्स अफ टेरोरिजम सपोर्ट पोर्टल’ मार्फत पीडितका अधिकार र आवश्यकताबारे चेतना अभिवृद्धि गर्दै आएको छ।
राष्ट्रसंघीय आतंकवादप्रतिरोध कार्यालयले आतंकवादविरुद्धको विश्वव्यापी रणनीति कार्यान्वयनका लागि सदस्य राष्ट्र तथा संयुक्त राष्ट्रसंघीय निकायलाई रणनीतिक नेतृत्व, समन्वय र क्षमता अभिवृद्धिमा सहयोग गर्दै आएको छ। साथै, पीडितलाई आवश्यक सहयोग उपलब्ध गराउन नागरिक समाज तथा निजी क्षेत्रसँगको सहकार्यलाई समेत प्रोत्साहन गर्दै आएको छ।
यसरी, अगस्ट २१ को दिवस आतंकवादका कारण ज्यान गुमाएका र प्रभावित भएका व्यक्तिको सम्झना गर्ने अवसर मात्र नभई पीडितको अधिकार, न्याय, सम्मान र दीर्घकालीन पुनःस्थापनालाई अन्तर्राष्ट्रिय प्राथमिकतामा राख्नुपर्ने सन्देश दिने दिनका रूपमा स्थापित हुँदै गएको छ।