आज नौ संसदीय समितिका बैठक, अर्थदेखि सुशासनसम्मका विषयमा छलफल - Chaitanya News
  • 2026-08-20
  • 10:14:01
  • बिहिबार,भाद्र ०४, २०८३
  • आज नौ संसदीय समितिका बैठक, अर्थदेखि सुशासनसम्मका विषयमा छलफल

    आज नौ संसदीय समितिका बैठक, अर्थदेखि सुशासनसम्मका विषयमा छलफल

    काठमाडौँ– संघीय संसद्अन्तर्गतका नौ वटा संसदीय समितिको बैठक आज बिहीबार बस्दैछ। प्रतिनिधि सभाको बैठक भदौ ८ गते र राष्ट्रिय सभाको बैठक शुक्रबारका लागि तय भएकाले आज विभिन्न समितिका बैठक एकै दिन बस्न लागेका हुन्।

    बिहान ११ बजे बस्ने अर्थ समितिको बैठकमा ‘नेपाल राष्ट्र बैंक ऐन, २०५८ लाई संशोधन गर्न बनेको विधेयक’माथि दफावार छलफललाई निरन्तरता दिइनेछ। बैठकमा अर्थमन्त्री र अर्थ सचिवलाई आमन्त्रण गरिएको छ।

    अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिको बैठक पनि बिहान ११ बजे बस्नेछ। बैठकमा ‘पर्यटन विधेयक, २०८१’का सम्बन्धमा होटल एसोसिएसन नेपाललगायत सरोकारवाला निकायसँग छलफल गर्ने कार्यसूची छ।

    उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठक बिहान १० बजे बस्दैछ। समितिमा प्राप्त उजुरीका सम्बन्धमा छलफल हुनेछ।

    कृषि तथा प्राकृतिक स्रोत समितिले पनि बिहान १० बजे बैठक बोलाएको छ। बैठकमा नेपालमा जैविक तथा प्राङ्गारिक मलको उत्पादन, भण्डारण तथा बिक्री वितरणको अवस्था सुधार गर्दै कृषि उत्पादनमा असर नपर्ने गरी रासायनिक मलको प्रयोग क्रमशः घटाउने विषयमा उत्पादकहरूसँग छलफल गरिनेछ।

    पूर्वाधार विकास समितिको बैठकमा अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिअन्तर्गतको बागमती ब्युटिफिकेसन आयोजनाका विषयमा छलफल हुनेछ। उक्त बैठक बिहान १० बजे बस्नेछ।

    राज्य व्यवस्था तथा सुशासन समितिको बैठक बिहान ११ बजे बस्नेछ। बैठकमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको काम कारबाहीलगायत विषयमा आयोगका पदाधिकारीसँग छलफल गर्ने कार्यक्रम छ।

    शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक बिहान १० बजे बस्दैछ। समितिले ‘राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना र सञ्चालन) विधेयक, २०८१’का सम्बन्धमा छलफल गर्नेछ।

    सार्वजनिक लेखा समितिको बैठक पनि बिहान १० बजे बस्नेछ। बैठकमा नेपाललाई प्राप्त हुने वैदेशिक सहायताको लेखा परीक्षणका सम्बन्धमा छलफल गरिनेछ।

    यस्तै, विधायन व्यवस्थापन समितिको बैठक अपराह्न १ बजे बस्नेछ। बैठकमा विधायिकी अन्तरसम्बन्धका विषयमा गाउँपालिका राष्ट्रिय महासंघ नेपालका अध्यक्ष र कार्यकारी निर्देशकसँग छलफल गर्ने कार्यक्रम छ।

    यसरी आज बस्ने समितिका बैठकमा मौद्रिक तथा वित्तीय कानुन, पर्यटन, कृषि, पूर्वाधार, सुशासन, शिक्षा, वैदेशिक सहायता र विधायनसम्बन्धी विषयमा छलफल हुँदैछ।