काठमाडौँ– प्रधानमन्त्री बालेन्द्र शाहले आज दिउँसो ३ बजे मन्त्रिपरिषद्को बैठक बोलाएका छन्। सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्ने बैठकमा नियमित प्रशासनिक तथा नीतिगत विषयसँगै सचिव बढुवाको प्रस्तावमा समेत निर्णय हुने सम्भावना रहेको छ।
मन्त्रिपरिषद् बैठकले विभिन्न मन्त्रालयबाट पेस भएका प्रस्तावमाथि छलफल गरी आवश्यक निर्णय गर्नेछ। बैठकमा सरकारका नियमित कामकारबाहीसँग सम्बन्धित प्रस्तावहरू पनि पेस हुने जनाइएको छ।
यसैबीच, रिक्त रहेको एक सचिव पदमा बढुवाका लागि सचिव बढुवा सिफारिस समितिले तीन जना सहसचिवको नाम सिफारिस गरिसकेको छ। समितिले सिफारिस गरेको नाम मन्त्रिपरिषद्मा पेस भइसकेकाले आजको बैठकबाट सचिव बढुवाको निर्णय हुन सक्ने उच्च प्रशासनिक स्रोतले जनाएको छ।
सचिव पद रिक्त भएपछि समितिले वरिष्ठता, कार्यसम्पादन तथा प्रशासनिक मापदण्डका आधारमा तीन जना सहसचिवको नाम सरकारसमक्ष सिफारिस गरेको हो। अब मन्त्रिपरिषद्ले तीमध्ये एक जनालाई सचिवमा बढुवा गर्नेछ।
आजको बैठकमा सचिव बढुवाबाहेक विभिन्न मन्त्रालयका प्रशासनिक तथा नीतिगत प्रस्तावमा पनि निर्णय हुने अपेक्षा गरिएको छ। सरकारका प्राथमिकतासँग सम्बन्धित केही महत्वपूर्ण विषयमा समेत छलफल हुनसक्ने स्रोतले जनाएको छ।
मन्त्रिपरिषद् बैठकले गर्ने निर्णयसँगै सरकारको आगामी प्रशासनिक कार्यदिशासमेत थप स्पष्ट हुने अपेक्षा गरिएको छ।