काठमाडौं– वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या साउन महिनामा ७० हजार नाघेको छ। वैदेशिक रोजगार विभागका अनुसार साउनमा पुनः श्रम स्वीकृतिसहित ७० हजार ४ सय ४१ जनाले वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिएका हुन्।
श्रम स्वीकृति लिनेमा पुरुषको संख्या उल्लेख्य बढी छ। साउनमा ६० हजार ४ सय ७२ पुरुष र ९ हजार ९ सय ६९ महिलाले श्रम स्वीकृति लिएका छन्।
विभागको तथ्यांकअनुसार साउनमा पहिलोपटक वा नयाँ श्रम स्वीकृति लिनेको संख्या ४२ हजार ६ सय ९३ रहेको छ। यसैगरी वैदेशिक रोजगारीबाट पुनः फर्किएर जाने २७ हजार ७ सय ४८ जनाले पुनः श्रम स्वीकृति लिएका छन्।
वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिनेको ठूलो हिस्सा म्यानपावर कम्पनीमार्फत गएको देखिन्छ। साउनमा म्यानपावरमार्फत २९ हजार ४ सय ४७ जनाले श्रम स्वीकृति लिएका छन्। व्यक्तिगत प्रक्रियाबाट १२ हजार ४ सय ४२ जनाले श्रम स्वीकृति लिएका छन्। त्यस्तै, सरकार–सरकारबीचको सम्झौता अर्थात् ‘जीटुजी’ प्रक्रियाबाट ७ सय १२ जना वैदेशिक रोजगारीमा गएका छन्।
गन्तव्य मुलुकतर्फ हेर्दा साउनमा संयुक्त अरब इमिरेट्स (यूएई) नेपाली श्रमिकको प्रमुख रोजाइमा परेको छ। विभागका अनुसार यूएई जान १८ हजार ७ सय ८४ जनाले श्रम स्वीकृति लिएका छन्।
त्यसपछि मलेसिया, कतार र साउदी अरब नेपाली श्रमिकका प्रमुख गन्तव्य बनेका छन्। मलेसियाका लागि १२ हजार ४ सय ९८, कतारका लागि १० हजार ३ सय ६० र साउदी अरबका लागि ८ हजार ६ सय १३ जनाले श्रम स्वीकृति लिएका छन्।
साउनमा श्रम स्वीकृति लिनेको संख्या अघिल्लो महिनाको तुलनामा पनि केही बढेको छ। गत असारमा ६९ हजार ३ सय ६२ जनाले श्रम स्वीकृति लिएका थिए। साउनमा यो संख्या १ हजार ७९ ले बढेर ७० हजार ४ सय ४१ पुगेको हो।
पछिल्ला वर्षहरूमा वैदेशिक रोजगारी नेपाली युवाका लागि रोजगारी र आम्दानीको प्रमुख माध्यम बन्दै आएको छ। स्वदेशमा पर्याप्त रोजगारीको अवसर नहुँदा ठूलो संख्यामा युवा रोजगारीका लागि विदेश जाने गरेका छन्।
गत आर्थिक वर्ष २०८२/८३ मा मात्रै ७ लाख ९२ हजार १ सय ८७ जना श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा गएको विभागको तथ्यांक छ। साउनको तथ्यांकले नयाँ आर्थिक वर्षको सुरुवातमै वैदेशिक रोजगारीतर्फ जाने नेपालीको संख्या उच्च रहेको देखाएको छ।