काठमाडौँ– आज (मंगलबार) एकै दिन प्रतिनिधि सभा अन्तर्गतका विभिन्न ५ वटा संसदीय समितिको बैठक बस्दैछन् ।
जसअनुसार, कृषि तथा प्राकृतिक स्रोत समितिको बैठकमा कृषि, वन तथा पर्यावरण मन्त्रालयद्वारा गठित मानव(वन्यजन्तु द्वन्द्व व्यवस्थापन प्राविधिक कार्यदलद्वारा तयार पारिएको प्रतिवेदन माथि छलफल हुने कार्यसूची तय भएको छ। छलफलमा उठेका विषयवस्तुमाथि जवाफ दिन समितिले कृषिमन्त्री, मन्त्रालयका सचिवलगायतलाई डाकेको छ। बैठक बिहान साढे ९ बजे बस्ने छ ।
यस्तै पूर्वाधार विकास समितिको बैठक बिहान १० बजे बस्दै छ। बैठकमा स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था (इप्पान) र यसले भोग्नुपरेका समस्याहरूबारे छलफल गर्ने कार्यसूची रहेको छ।
यसैगरी, बिहान साढे १० बजे नै सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक बस्दैछ । बैठमा मदन पुरस्कार गुठीको स्थलगत अवलोकन लगायत विविध विषयमा छलफल गर्ने कार्यसूची तय गरिएको छ।
यसैगरी, बिहान ११ बजे बस्ने संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा सरकारद्वारा नियुक्त हुने निकायका पदाधिकारीमा समावेशी तथा समानुपातिक प्रतिनिधित्व सुनिश्चित गर्ने लगायत विविध विषयमा छलफल हुने कार्यसूची छ।