जेन जेड आन्दोलनका प्रभावितलाई राहतदेखि पुनर्स्थापनासम्म, सरकार बनायो समन्वय समिति - Chaitanya News
  • 2026-08-14
  • 17:12:42
  • शुक्रबार,साउन २९, २०८३
  • जेन जेड आन्दोलनका प्रभावितलाई राहतदेखि पुनर्स्थापनासम्म, सरकार बनायो समन्वय समिति

    जेन जेड आन्दोलनका प्रभावितलाई राहतदेखि पुनर्स्थापनासम्म, सरकार बनायो समन्वय समिति

    काठमाडौँ– जेन जेड आन्दोलनका सहिद परिवार र घाइतेका लागि सरकारले घोषणा गरेको पुनर्स्थापना तथा सामाजिक संरक्षणसम्बन्धी प्याकेज कार्यान्वयनलाई प्रभावकारी बनाउन सरकारले समन्वय संयन्त्र सक्रिय बनाएको छ। सम्झौता र मन्त्रिपरिषद्को निर्णयअनुसारका कार्यक्रम कार्यान्वयनमा देखिएका समस्या पहिचान गर्दै समाधान खोज्ने गरी विशेष समिति गठन गरिएको हो।

    प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सहसचिव हेमराज अर्यालको संयोजकत्वमा गठित ‘जेन जेड सम्झौता तथा एकीकृत प्याकेज कार्यान्वयन समन्वय एवं सहजीकरण समिति’को पहिलो बैठकसमेत सम्पन्न भइसकेको छ।

    समितिको मुख्य जिम्मेवारी आन्दोलनका सहिद परिवार तथा घाइतेलाई लक्षित गरी तयार पारिएको एकीकृत प्याकेज कार्यान्वयनको अवस्था समीक्षा गर्नुका साथै संघीय सरकारका विभिन्न मन्त्रालय तथा निकायबीच आवश्यक समन्वय गर्नु रहेको छ।

    नेपाल सरकार र जेन जेड प्रतिनिधिबीच २०८२ मंसिर २४ गते भएको सम्झौता तथा मन्त्रिपरिषद्को २०८३ असार १८ गतेको निर्णयबाट स्वीकृत प्याकेजमा सहिद परिवार तथा घाइतेको पुनर्स्थापना, जीवनयापन र सामाजिक संरक्षणका विषय समेटिएका छन्।

    सरकारले अब प्याकेज घोषणा गरेर मात्र सीमित नरही त्यसको कार्यान्वयनमा देखिने व्यवहारिक कठिनाइसमेत सम्बोधन गर्ने संयन्त्र बनाएको हो। विशेषगरी प्रभावित परिवारका शिक्षा, स्वास्थ्य, रोजगारी तथा जीवनयापनसँग जोडिएका विषयलाई प्राथमिकतामा राखेर सम्बन्धित निकायमार्फत आवश्यक व्यवस्था मिलाउने समितिको कार्यादेश छ।

    समितिले सहिद परिवार तथा घाइतेका लागि सरकारसँग प्रत्यक्ष सम्पर्क गर्ने विन्दुका रूपमा समेत काम गर्नेछ। प्याकेज कार्यान्वयनका क्रममा कुनै समस्या वा अस्पष्टता देखिएमा त्यसको पहिचान गरी सुधारका उपाय सम्बन्धित निकायलाई सिफारिस गर्ने जिम्मेवारी पनि समितिलाई दिइएको छ।

    आन्दोलन प्रभावित परिवारका आवश्यकता फरक–फरक हुन सक्ने भएकाले समितिले आवश्यकताअनुसार सरकारी तथा गैरसरकारी क्षेत्रका प्रतिनिधि र विषयगत विशेषज्ञलाई बैठक तथा छलफलमा सहभागी गराउन सक्ने व्यवस्था गरिएको छ।

    सहसचिव अर्यालको संयोजकत्वमा रहेको समितिमा गृह र अर्थ मन्त्रालयसहित सात मन्त्रालयका उपसचिवस्तरीय प्रतिनिधि सदस्य छन्। आन्दोलन प्रभावित पक्षको सहभागिता सुनिश्चित गर्न ‘जेन जेड सहिद परिवार कल्याणकारी समाज’ र ‘घाइते जेन जेड नेपाल’का प्रतिनिधिलाई समेत समितिमा समावेश गरिएको छ।

    प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको प्रादेशिक समन्वय, राष्ट्रिय सुरक्षा तथा कूटनीतिक मामिला शाखाका प्रमुख उपसचिव वासुदेव खनाल समितिको सदस्यसचिव छन्।

    सरकारले गठन गरेको यो संयन्त्रलाई आन्दोलनपछि गरिएका प्रतिबद्धता व्यवहारमा उतार्ने महत्वपूर्ण माध्यमका रूपमा हेरिएको छ। अब समितिको सक्रियता र सम्बन्धित निकायबीचको समन्वयले सहिद परिवार तथा घाइतेले घोषणा गरिएको प्याकेजको वास्तविक लाभ कति छिटो र प्रभावकारी रूपमा पाउँछन् भन्ने निर्धारण गर्नेछ।