यी हुन् आज बसेको मन्त्रिपरिषद् बैठकका निर्णय - Chaitanya News
  • 2026-11-10
  • 15:40:54
  • मंगलबार,कार्तिक २५, २०८३
  • यी हुन् आज बसेको मन्त्रिपरिषद् बैठकका निर्णय

    यी हुन् आज बसेको मन्त्रिपरिषद् बैठकका निर्णय

    काठमाडौँ– आज (मंगलबार) बसेको मन्त्रिपरिषद् बैठकका निर्णयसार्वजनिक भएका छन् । जसअनुसार, सरकारले हालै भएको प्रदर्शनका क्रममा मृत्यु भएका सुनसरी र सिराहाका चार जना व्यक्तिहरूलाई सहिद घोषणा गर्ने निर्णय गरेको छ।

    बैठकले सुनसरी जिल्लाका ओमप्रकाश मेहता, जयप्रकाश मेहता, रबिन्द्रकुमार मेहता र सिराहा जिल्लाका गणेशकुमार यादवलाई सहिद घोषणा गर्ने निर्णय गरेको शिक्षामन्त्री तथा सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिए।

    गृह मन्त्रालयको प्रस्तावमा गरिएको यस निर्णयले पीडित परिवारलाई राहत र न्यायको अनुभूति गराउने सरकारको विश्वास छ।

    यसैगरी, स्वास्थ्य सेवालाई थप सुलभ बनाउन र वातावरणीय संरक्षणलाई बढवा दिन सरकारले ठुलो कर छुटको घोषणा गरेको छ। प्रवक्ता पोखरेलका अनुसार नेपालभित्र पैठारी हुने वा स्वदेशमै उत्पादन हुने विद्युत्‌बाट सञ्चालित एम्बुलेन्स र शव वाहनमा लाग्ने पूर्वाधार लगानी शुल्क तथा मूल्य अभिवृद्धि कर ९भ्याट० मा पूर्ण रूपमा छुट दिने निर्णय अर्थ मन्त्रालयको प्रस्तावमा स्वीकृत भएको छ।

    बैठकले वैदेशिक रोजगारीको क्षेत्रलाई थप व्यवस्थित बनाउन बाराका निर्मलकुमार उप्रेतीलाई वैदेशिक रोजगार बोर्डको कार्यकारी निर्देशक पदमा नियुक्त गरेको छ । त्यस्तै, नेपाल र पोर्चुगलबीचको कुटनीतिक सम्बन्धलाई थप सुदृढ बनाउन पोर्चुगल सरकारलाई काठमाडौँमा कन्सुलर कार्यालय खोल्न अनुमति दिने निर्णय पनि भएको छ।

    सार्वजनिक चासोको विषय बनेको एनसेलको सेयर खरिद(बिक्रीका सम्बन्धमा पूर्व महालेखापरीक्षक टङ्कमणि शर्मा दङ्गालको संयोजकत्वमा गठित छानबिन समितिले बुझाएको प्रतिवेदनलाई पनि सार्वजनिक गर्ने निर्णय मन्त्रिपरिषद्ले गरेको छ।

    पोखरेलले प्रधानमन्त्री बालेन शाहको आगामी विदेश भ्रमण र छिमेकी मित्रराष्ट्रका उच्च अधिकारीहरूको भ्रमणका विषयमा मन्त्रालयहरूले आवश्यक प्रोटोकल अनुसार काम गरिरहेको स्पष्ट पारे।