काठमाडौं– अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले २३ र २४ भदौ २०८२ को आन्दोलनका दौरान सरकारी कागजात जलेर लेखा परीक्षण हुन नसकेको सन्दर्भमा सार्वजनिक लेखा समितिको मार्गनिर्देशन पालना गर्ने बताएका छन्।
आज (मंगलबार) समितिको बैठकमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै अर्थमन्त्री वाग्लेले यसघटनाबारे सरकार र प्रतिपक्षीको दृष्टिकोणमा खासै फरक नरहेको बताए।
त्यसअघि पूर्वअर्थमन्त्री वर्षमान पुनले यो सन्दर्भमा सरकारको दृष्टिकोण आउनुपर्ने बताएका थिए। ‘समस्याबारे समान बुझाई भएपछि समाधानमा पनि समान अप्रोच हुन्छ, सरकारको यसमा असहमति छैन, हामी समितिको मार्गनिर्देशन मान्छौं’ उनले भने।
२३ र २४ को घटनालाई काबु बाहिरको घटना भन्दा समान दृष्टिकोण हुने उनले बताए। कागजात उत्खनन्, रुजु गर्ने र सेकेन्डरी डाटाबाट पुनर्स्थापित गर्ने कुरा नै वैज्ञानिक पाटो हुने उनले बताए।
अनियमितता नहोस् भन्नका लागि भने समितिबाट अनुगमन हुन सक्ने उनले बताए। भविष्यमा यस्ता घटना हुन नदिन, डिजिटलाइज र डिजिटाइज गर्ने काम निरन्तर हुने उनले बताए।