काठमाडौँ– सरकारले आर्थिक मितव्ययिता र कूटनीतिक संयन्त्रको पुनर्संरचनाअन्तर्गत विदेशस्थित पाँचवटा नेपाली कूटनीतिक नियोग बन्द गर्ने प्रक्रिया अघि बढाएको छ। परराष्ट्र मन्त्रालयले भने सेवाग्राहीलाई कुनै असुविधा नपर्ने गरी भरपर्दो वैकल्पिक व्यवस्था सुनिश्चित गरेपछि मात्र ती नियोग पूर्ण रूपमा बन्द गरिने जनाएको छ।
शुक्रवार मन्त्रालयमा आयोजित नियमित पत्रकार सम्मेलनमा परराष्ट्र मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीले ब्राजिल, डेनमार्क र दक्षिण अफ्रिकास्थित नेपाली राजदूतावास तथा अमेरिकाको सानफ्रान्सिस्को र चीनको छेन्दुस्थित नेपाली महावाणिज्यदूतावास बन्द गर्ने निर्णय कार्यान्वयनको चरणमा रहेको जानकारी दिए।
उनका अनुसार सम्बन्धित क्षेत्रमा रहेका नेपाली नागरिक, कन्सुलर सेवा लिनुपर्ने अन्य सेवाग्राही तथा समवर्ती मान्यता प्राप्त मुलुकका सेवाप्राप्तकर्तालाई कुनै समस्या नआउने गरी वैकल्पिक सेवा प्रणाली तयार पार्ने काम भइरहेको छ।
प्रवक्ता क्षेत्रीले नियोगहरूको संख्या घटाउने निर्णयलाई सरकारको अल्पकालीन व्यवस्थापन रणनीतिको हिस्सा भएको उल्लेख गर्दै आर्थिक क्षमता सुदृढ बन्दै गएपछि आवश्यकता र सम्भावनाअनुसार भविष्यमा कूटनीतिक उपस्थिति पुनः विस्तार गरिने बताए।
उनले सरकारको उद्देश्य सेवा कटौती गर्नु नभई उपलब्ध स्रोत–साधनको प्रभावकारी परिचालन गर्नु रहेको स्पष्ट पार्दै कूटनीतिक सेवा निरन्तर र सहज रूपमा उपलब्ध गराइने विश्वास व्यक्त गरे।