काठमाडौं– सरकारले खाली रहेका २० राजदूतको नियुक्तिको सिफारिस गर्ने तयारी गरेको छ।
परराष्ट्र मन्त्रालयका अधिकारीहरूकाले दिएको जानकारी अनुसार अहिले आएका आवेदनहरूको अध्ययन भइरहेको छ। त्यसमध्येबाट उपयुक्त पात्र चयन गरी अर्को साता सम्म सिफारिस गर्ने तयारी छ।
खुल्ला आवेदनबाट पहिलोपटक राजदूत नियुक्ति सिफारिस हुन लागेको हो।
करिब ३ हजार भन्दा बढी नामबाट छानेर नियुक्ति सिफारिस गर्न लागेको हो।
हाल भारत, अमेरिका, चीन, अस्ट्रेलिया, जर्मनी, इजराइल, जापान, दक्षिण कोरिया, मलेसिया, ओमान, कतार, रुस, साउदी अरब, श्रीलंका, बेलायत र स्पेन गरी १६ देशमा राजदूत खाली छन्।
४ वर्षे कार्यकाल सकेर केहि समयका लागि म्याद थपेर काम गरिरहेका इजिप्ट, बहराइन, बंगलादेश, म्यानमार र राष्ट्र संघीय नियोग भियना छन्। यी सबैमा गरी २० मिसनमा राजदूत नियुक्त गर्नुपर्ने हुन्छ।
नेपालका जम्मा राजदूतावास संख्या २८ छ। संयुक्त राष्ट्र संघको लागि स्थायी मिसन ३ वटा छन्। महावाणिज्य दूतावासहरू ८ गरी जम्मा ३९ मिसनहरू छन्।
सरकारले यो आर्थिक वर्षदेखि दक्षिण अफ्रिका, ब्राजिल र डेनमार्क गरी तीनवटा राजदूतावासहरू बन्द गरेको छ।
हाल न्यूयोर्क, जेनेभा, भियना, बहराइन, बंगलादेश, बेल्जियम, क्यानडा, इजिप्ट, फ्रान्स, कुवेत, म्यानमार, पाकिस्तान, पोर्चुगल, थाइल्यान्ड र यूएईमा मात्र राजदूत छन्।
राजदूत नियुक्तिमा राजनीतिक र करिअर दुवैतर्फबाट गर्ने चलन छ। अहिले पनि दुवैतर्फबाट नियुक्त गर्न लागिएको हो।