ग्यास अभाव छैन भन्ने निगमको दाबी, तर भान्सा किन रित्तो ? - Chaitanya News
  • 2026-08-03
  • 13:29:37
  • सोमबार,साउन १८, २०८३
  • ग्यास अभाव छैन भन्ने निगमको दाबी, तर भान्सा किन रित्तो ?

    ग्यास अभाव छैन भन्ने निगमको दाबी, तर भान्सा किन रित्तो ?

    काठमाडौँ– नेपाल आयल निगमले देशभर, विशेषगरी काठमाडौँ उपत्यकामा खाना पकाउने एलपी ग्यासको कुनै अभाव नरहेको दाबी गरिरहेको छ। निगमका अनुसार भारतबाट ग्यास बोकेका बुलेटहरू नियमित रूपमा नेपाल भित्रिरहेका छन्, उद्योगहरूलाई आवश्यक परिमाणमा आपूर्ति भइरहेको छ र वितरण प्रणाली पनि सामान्य अवस्थामै छ। निगमले देखिएको समस्या वास्तविक अभावभन्दा पनि उपभोक्ताको अनावश्यक सञ्चय प्रवृत्ति तथा केही स्थानमा डिलरहरूको अव्यवस्थित वितरणका कारण उत्पन्न भएको बताएको छ।

    तर, निगमको यही दाबीको ठीक विपरीत दृश्य सोमबार काठमाडौँको टेकुस्थित नेशनल ट्रेडिङ लिमिटेडको शाखा कार्यालय परिसरमा देखियो। बिहानैदेखि सयौँ होइन, हजारौँ उपभोक्ता रित्ता ग्यास सिलिन्डर बोकेर लाइनमा उभिएका छन्। कसैले काँधमा सिलिन्डर बोकेका छन् भने कसैले मोटरसाइकलमा राखेका छन्। कतिपय वृद्धवृद्धा, महिला तथा अपांगता भएका व्यक्तिहरू पनि घण्टौँ पालो कुर्दै बसिरहेका छन्। केही मानिस थकानले सिलिन्डरमै बसेका देखिन्थे।

    नेशनल ट्रेडिङले बिहान ११ बजेदेखि बेलुका ५ बजेसम्म मात्रै ग्यास वितरण गर्ने व्यवस्था गरेको छ। दैनिक केवल ६ घण्टाको वितरण समयले हजारौँ उपभोक्तालाई एउटै समयमा केन्द्रमा जम्मा हुन बाध्य बनाएको छ। घाम, पानी र हिलोको पर्वाह नगरी लाइनमा बस्नुपरेको अवस्थाले ग्यास आपूर्ति सहज रहेको सरकारी दाबीमाथि गम्भीर प्रश्न उठाएको छ।

    उपत्यकाका धेरै खुद्रा डिलरहरूमा ग्यास उपलब्ध नभएपछि उपभोक्ताहरू टेकुसम्म पुग्न बाध्य भएका हुन्। अधिकांशको गुनासो एउटै थियो, यदि बजारमा पर्याप्त ग्यास छ भने पसलहरू किन खाली छन् ?

    दाबीभन्दा भान्साको यथार्थ फरक छ:

    लाइनमा बसेका उपभोक्ताहरूका अनुभवले सरकारी दाबीभन्दा फरक चित्र प्रस्तुत गर्छ।

    बानेश्वर निवासी रामबहादुर तामाङ बिहान साढे सात बजेदेखि लाइनमा बसेका थिए। उनले भने, म तीन दिनदेखि आफ्नो टोलका पाँच वटा डिलर घुमेँ। सबैले ग्यास छैन भने। अन्तिममा टेकु आउनुपर्‍यो। यदि बजारमा ग्यास पर्याप्त छ भने हामी किन यति बिहानदेखि लाइनमा बस्नुपरेको हो ? दिनभर काम छोडेर यहाँ बस्नु परेको छ। अझै ग्यास मिल्ने हो कि होइन् थाहै छैन् ।

    यस्तै ललितपुरकी सीता श्रेष्ठले ग्यास नपाएर घरमा बच्चा भोकै बस्नु परेको पीडा सुनाइन्। हाम्रो घरको ग्यास सकिएको दुई दिन भयो। सानो बच्चा छ। खाना पकाउनै समस्या भएको छ। सरकारले ग्यास छ भनिरहेको छ तर हामीले त पाएका छैनौँ। यस्तो अवस्थामा वृद्ध र महिलाका लागि छुट्टै व्यवस्था हुनुपर्थ्यो।

    यसैगरी बानेश्वर मै काठा भाडामा बस्ने सुरेश महर्जनले वितरण प्रणालीमै समस्या रहेको बताए। उनले भने, ग्यास उद्योगले अभाव छैन भन्छन्, निगमले पनि त्यही भन्छ। तर डिलरकहाँ जाँदा पाइँदैन। त्यसपछि सबैलाई एउटै ठाउँमा बोलाएर लाइन लगाउनु समाधान होइन। टोकन वा अनलाइन प्रणाली ल्याएको भए यस्तो भीड हुने थिएन।

    यस्ता गुनासो लाइनमा बसेका धेरै उपभोक्ताबाट सुनिन्थ्यो। कतिपयले दिनभर पालो नआउने हो कि भन्ने चिन्ता व्यक्त गरिरहेका थिए भने केहीले कालोबजारी भइरहेको आशंका पनि गरेका थिए।

    आयल निगमको दाबीः ग्यास पर्याप्त छ:

    नेपाल आयल निगमले भने देशमा ग्यासको वास्तविक अभाव नरहेको स्पष्ट पारेको छ। निगमका अधिकारीहरूका अनुसार भारतबाट एलपी ग्यास बोकेका बुलेटहरू नियमित रूपमा नेपाल आइरहेका छन् र ग्यास उद्योगहरूलाई आवश्यक परिमाणमा आपूर्ति भइरहेको छ।

    निगमका अनुसार, केही उपभोक्ताले आवश्यकताभन्दा बढी ग्यास सञ्चय गर्न खोज्दा र केही स्थानीय डिलरहरूले समयमै वितरण नगर्दा बजारमा अभाव भएको जस्तो देखिएको हो। निगमले ग्यास उद्योगहरूलाई नियमित आपूर्ति भइरहेको भन्दै उपभोक्तालाई अनावश्यक रूपमा धेरै सिलिन्डर सञ्चय नगर्न आग्रह गरेको छ।

    बजार अनुगमन कडा बनाइने सरकारको भनाई:

    यसैगरी सरकारले पनि बजारमा कृत्रिम अभाव सिर्जना गर्ने, कालोबजारी गर्ने वा ग्यास लुकाउनेमाथि कडा निगरानी गरिने जनाएको छ। वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका अधिकारीहरूका अनुसार बजार अनुगमनलाई थप प्रभावकारी बनाइने, डिलरहरूमा ग्यासको वास्तविक अवस्था बुझिने र आवश्यक परे कानुनी कारबाहीसमेत गरिनेछ।

    सरकारले उपभोक्तालाई अफवाहमा नलाग्न आग्रह गर्दै वास्तविक समस्या भएका स्थानमा तत्काल आपूर्ति व्यवस्थापन गर्न सम्बन्धित निकायसँग समन्वय भइरहेको जनाएको छ।

    उपभोक्ता अधिकारकर्मीहरूका अनुसार समस्या ग्यासको कुल परिमाणमा भन्दा पनि वितरण व्यवस्थापनमा देखिएको छ। निगमले ग्यास पर्याप्त रहेको दाबी मात्रै गर्ने होइन, त्यो ग्यास उपभोक्ताको घर नजिकैका डिलरसम्म पुगेको छ कि छैन भन्ने सुनिश्चित गर्नुपर्ने उनीहरूको भनाइ छ।

    उनीहरूका अनुसार वाणिज्य विभाग, स्थानीय प्रशासन र नेपाल आयल निगमबीच नियमित समन्वय गरी बजार अनुगमन गर्नुपर्छ। यदि डिलरहरूले कृत्रिम अभाव सिर्जना गरेका छन् भने तत्काल कारबाही हुनुपर्छ। साथै, टेकुजस्ता वितरण केन्द्रमा टोकन प्रणाली, अनलाइन दर्ता, ज्येष्ठ नागरिक, महिला र अपांगता भएका व्यक्तिका लागि छुट्टै लाइन तथा वितरण समय विस्तार गर्नुपर्ने सुझाव पनि दिएका छन्।

    दाबी र यथार्थबीचको दूरी:

    नेपाल आयल निगमको अभाव नरहेको दाबी र टेकुमा देखिएको हजारौँको लाइनबीच स्पष्ट अन्तर देखिन्छ। यदि आपूर्ति सहज छ भने उपभोक्ता किन घण्टौँ लाइनमा बस्न बाध्य छन् ? यदि बजारमा पर्याप्त ग्यास पुगेको छ भने खुद्रा डिलरहरू किन खाली छन् ? यी प्रश्नको जवाफ सरकारी निकायले दिनुपर्ने अवस्था आएको छ।

    ग्यास केवल एउटा वस्तु होइन, प्रत्येक घरको दैनिक जीवनसँग प्रत्यक्ष जोडिएको अत्यावश्यक उपभोग्य सामग्री हो। यसको वितरणमा देखिने सानो कमजोरीले पनि हजारौँ परिवारको भान्सा प्रभावित हुन्छ। त्यसैले विज्ञप्तिमार्फत आश्वस्त पार्नेभन्दा प्रभावकारी बजार व्यवस्थापन, पारदर्शी वितरण, नियमित अनुगमन र उपभोक्तामैत्री प्रणाली विकास गर्नु अहिलेको सबैभन्दा ठूलो आवश्यकता बनेको छ।