काठमाडौँ– प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले आफू सङ्घीयता पक्षधर भएको स्पष्ट पारेका छन्।
आज (शुक्रबार) सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा कोशी र मधेस प्रदेशमा पछिल्लो समय विकसित भएका साम्प्रदायिक घटना, शान्ति सुरक्षा र सङ्घीयताको कार्यान्वयनका विषयलाई लिएर मधेस केन्द्रित दलका नेताहरूसँगको छलफलमा उनले यस्तो बताएका हुन्।
राष्ट्रिय मुक्ति पार्टी नेपालका अध्यक्ष राजेन्द्र महतोले प्रधानमन्त्री बालेनले आफूलाई सङ्घीयता विरोधीको रूपमा नलिन आग्रह गर्दै सपनामा पनि आफू सङ्घीयता विरुद्ध नरहेको स्पष्ट पारेको बताए। सपनामा पनि नसोच्नुहोला, म सङ्घीयता विरोधी होइन। पार्टी पनि होइनु, बालेनको भनाइ उद्धृत गर्दै महतोले भने।
प्रधानमन्त्रीले विगतमा आफूले बोलेको ुबलगरु सङ्घीयताको अर्थ यसलाई अझ बलियो र अधिकारसम्पन्न बनाउने रहेको स्पष्ट पार्दै सङ्घीयताको संरचनागत परिवर्तन र अधिकारको बाँडफाँटमा जोड दिएको महतोको भनाइ थियो। आफू सङ्घीयतालाई कुनै पनि हालतमा कमजोर हुन नदिने पक्षमा रहेको र यसलाई कसरी समावेशी बनाउने भन्नेमा चिन्तित रहेको प्रधानमन्त्रीको भनाइ थियो।
सो क्रममा सुनसरी र सिराहामा भएका पछिल्ला घटनाप्रति गम्भीर बन्न मधेसी नेताहरूले सरकारको ध्यानाकर्षण गराएका थिए। महतोले सरकारको सुरक्षा संयन्त्रले समयमा काम नगरेको र गृहमन्त्री घटना स्थलमा ढिलो गरी पुगेको भन्दै आलोचना गरे।
साम्प्रदायिक दङ्गा नियन्त्रणका लागि प्रधानमन्त्री कार्यालयमा नै स्थायी रूपमा ुर्याड्स टिमु गठन गर्नुपर्ने र कुनै पनि अप्रिय घटना भएमा त्यसको तीन घण्टाभित्रै वार्ता र व्यवस्थापनमार्फत समाधान खोजिनुपर्ने सुझाव दिइएको उनले बताए।
झन्डै साढे दुई घण्टा चलेको उक्त छलफलमा प्रधानमन्त्रीले मधेस र कोसीको शान्ति सुरक्षा कायम राख्न सरकारले ठोस कदम चाल्ने र सबै पक्षलाई सौहार्दपूर्ण वातावरण कायम राख्न अपिल समेत गरेको बताइएको छ।