काठमाडौँ– सरकारले प्रशासनिक नेतृत्वलाई पुनःव्यवस्थित गर्दै चार जना सचिवको सरुवा गरेको छ। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न मन्त्रालय तथा प्रदेशमा सचिवहरूको जिम्मेवारी हेरफेर गर्नुका साथै एक वरिष्ठ सहसचिवलाई कायममुकायम प्रमुख सचिवको जिम्मेवारी दिने निर्णय गरेको हो।
निर्णयअनुसार राष्ट्रिय तथ्याङ्क कार्यालयका प्रमुख तथ्याङ्क अधिकारी डा. कमलप्रसाद पोखरेललाई सूचना तथा सञ्चार मन्त्रालयको सचिवमा सरुवा गरिएको छ। सो मन्त्रालयकी सचिव लक्ष्मीकुमारी बस्नेतलाई राष्ट्रिय तथ्याङ्क कार्यालयमा पठाइएको छ। गत माघमा मात्र सञ्चार मन्त्रालयको जिम्मेवारी सम्हालेकी बस्नेत करिब छ महिनामै नयाँ जिम्मेवारीमा पुगेकी हुन्।
त्यसैगरी प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको अतिरिक्त समूहमा रहेकी सचिव राधिका अर्याललाई कर्णाली प्रदेश सरकारको प्रमुख सचिवको जिम्मेवारी दिइएको छ।
बागमती प्रदेश सरकारका प्रमुख सचिव बाबुराम अधिकारीलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको अतिरिक्त समूहमा सरुवा गरिएको छ। अनिवार्य अवकाश नजिकिएकाले उनलाई अतिरिक्त समूहमा राखिएको जनाइएको छ।
यस्तै, बागमती प्रदेशको कायममुकायम प्रमुख सचिवको जिम्मेवारी वरिष्ठ सहसचिव कमलप्रसाद भट्टराईलाई दिइएको मन्त्रिपरिषद्को निर्णयमा उल्लेख छ।