स्वास्थ्य सेवामा भरोसा बढाउन मन्त्रालयको दीर्घकालीन योजना, कानुनीदेखि प्रशासनिक संरचनासम्म सुधार - Chaitanya News
  • 2026-07-30
  • 10:09:39
  • बिहिबार,साउन १४, २०८३
  • स्वास्थ्य सेवामा भरोसा बढाउन मन्त्रालयको दीर्घकालीन योजना, कानुनीदेखि प्रशासनिक संरचनासम्म सुधार

    स्वास्थ्य सेवामा भरोसा बढाउन मन्त्रालयको दीर्घकालीन योजना, कानुनीदेखि प्रशासनिक संरचनासम्म सुधार

    काठमाडौँ– स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले स्वास्थ्य सेवाप्रति नागरिकको विश्वास अभिवृद्धि गर्ने लक्ष्यसहित कानुनी, नीतिगत तथा प्रशासनिक सुधारलाई तीव्रता दिएको जनाएको छ। स्वास्थ्यकर्मी र स्वास्थ्य संस्थामाथि हुने आक्रमणप्रति ‘शून्य सहनशीलता’को नीति कायम राख्दै सुरक्षित र उत्तरदायी स्वास्थ्य प्रणाली निर्माणमा मन्त्रालय केन्द्रित भएको हो।

    नारायणी अस्पतालमा भएको पछिल्लो घटनालाई आधार बनाएर मन्त्रालयले तत्कालीन कारबाहीमा मात्र सीमित नरही भविष्यमा यस्ता घटना दोहोरिन नदिने गरी दीर्घकालीन सुधार प्रक्रिया अघि बढाएको जनाएको छ।

    यसअन्तर्गत स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी ऐनलाई समयानुकूल परिमार्जन गर्ने प्रक्रिया सुरु गरिएको छ। सरोकारवाला निकायहरूको सुझाव समेटेर कानुनी तथा नीतिगत सुधारलाई अन्तिम रूप दिइने मन्त्रालयको भनाइ छ।

    यस्तै, मन्त्रालयले सेवा प्रवाहलाई प्रभावकारी बनाउन प्रशासनिक संरचनाको पुनःव्यवस्थापनसमेत अघि बढाएको छ। रामशाहपथस्थित मुख्य भवन आगलागीबाट नष्ट भएपछि विभिन्न स्थानबाट सञ्चालन हुँदै आएको मन्त्रालय अहिले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको भवनको दोस्रो र तेस्रो तलामा स्थानान्तरण भएको छ।

    मन्त्रालयका सचिव डा. विकास देवकोटासहित सचिवालयसँग सम्बन्धित शाखा तथा महाशाखाहरूलाई पनि क्रमशः एउटै भवनमा ल्याइँदैछ। प्रशासनिक संरचना एकीकृत भएपछि आन्तरिक समन्वय, निर्णय प्रक्रिया र सेवा प्रवाह थप छिटो, सहज र प्रभावकारी हुने मन्त्रालयको विश्वास छ।