विद्युत् अभावले प्रभावित ३१६ टेलिकम टावर, समस्या समाधानका लागि संयुक्त कार्ययोजनामा सरकार - Chaitanya News
  • 2026-07-29
  • 16:06:36
  • बुधबार,साउन १३, २०८३
  • विद्युत् अभावले प्रभावित ३१६ टेलिकम टावर, समस्या समाधानका लागि संयुक्त कार्ययोजनामा सरकार

    विद्युत् अभावले प्रभावित ३१६ टेलिकम टावर, समस्या समाधानका लागि संयुक्त कार्ययोजनामा सरकार

    काठमाडौँ– देशका विभिन्न क्षेत्रमा दूरसञ्चार सेवा प्रभावित हुनुको प्रमुख कारण बनेको टेलिकम टावरमा विद्युत् आपूर्तिको समस्या समाधान गर्न सरकार सक्रिय भएको छ। सूचना तथा सञ्चार मन्त्री डा. विक्रम तिमिल्सिनाले सम्बन्धित निकायहरूलाई स्थायी समन्वय प्रणाली बनाएर कार्ययोजनासहित अघि बढ्न निर्देशन दिएका छन्।

    सञ्चार मन्त्रालयमा आयोजित अन्तरनिकाय छलफलमा नेपाल टेलिकम, नेपाल विद्युत् प्राधिकरण र वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रका पदाधिकारी सहभागी थिए। छलफलमा नेपाल टेलिकमका बीटीएस, टावर तथा अन्य दूरसञ्चार उपकरणमा भरपर्दो विद्युत् नपुग्दा टेलिफोन र इन्टरनेट सेवा प्रभावित भइरहेको विषयमा समीक्षा गरिएको थियो।

    छलफलमा नेपाल टेलिकमकी प्रबन्ध निर्देशक संगीता पहाडीले हाल ३१६ वटा टेलिकम टावर राष्ट्रिय प्रसारण लाइनबाट विद्युत् नपुगी सौर्य ऊर्जाको भरमा सञ्चालन भइरहेको जानकारी दिइन्। उनका अनुसार टेलिकमले निर्माण गर्न लागेको करिब दुई हजार नयाँ टावरमध्ये झण्डै १४ सयमा नयाँ विद्युत् लाइन विस्तार गर्नुपर्ने अवस्था छ।

    सञ्चार मन्त्री डा. तिमिल्सिनाले नागरिकलाई भरपर्दो दूरसञ्चार सेवा उपलब्ध गराउनु सरकारको दायित्व भएको उल्लेख गर्दै अब समस्या पहिचानमा मात्र सीमित नभई समाधानमुखी रूपमा काम गर्नुपर्ने बताए। उनले टेलिकम, नेपाल विद्युत् प्राधिकरण र वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रबीच कार्यसमूह गठन गरी नियमित समन्वय र स्पष्ट कार्ययोजना कार्यान्वयन गर्न निर्देशन दिए।

    उनले टेलिकमका टावरमा विद्युत् नपुगेका स्थानको विस्तृत विवरण नेपाल विद्युत् प्राधिकरणलाई उपलब्ध गराई प्राथमिकताका आधारमा राष्ट्रिय प्रसारण लाइन विस्तार गर्नुपर्ने बताए। साथै, विद्युत् पुगेका क्षेत्रमा पनि कम भोल्टेजका कारण सेवा प्रभावित भइरहेकाले वितरण प्रणालीको क्षमता विस्तार गर्नुपर्नेमा जोड दिए।

    मन्त्री तिमिल्सिनाले फोरजी सेवाको गुणस्तर सुधार गर्दै क्रमशः फाइभजी पूर्वाधार विकासलाई गति दिनुपर्ने तथा दुर्गम क्षेत्रमा दूरसञ्चार सेवा विस्तारका लागि ग्रामीण दूरसञ्चार विकास कोष (आरटिडिएफ) प्रभावकारी रूपमा परिचालन गर्न सम्बन्धित निकायलाई निर्देशन दिए।

    नेपाल विद्युत् प्राधिकरणले टेलिकम टावरमा विद्युत् पहुँच विस्तारका लागि आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाएको छ। विगतमा समन्वयको अभावले समस्या उत्पन्न भएको स्वीकार गर्दै आगामी दिनमा टेलिकम टावर र विद्युत् पूर्वाधार सँगसँगै विस्तार गर्ने गरी संयुक्त योजना बनाइने जनाएको छ।

    वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रले पनि राष्ट्रिय प्रसारण लाइन पुर्‍याउन कठिन हुने दुर्गम क्षेत्रमा सौर्य तथा लघु जलविद्युत् प्रणालीमार्फत टेलिकम टावरमा भरपर्दो विद्युत् उपलब्ध गराउन सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गरेको छ।