तोमनाथ उप्रेती:
उपसचिव, नेपाल सरकार:
मानव सभ्यताको विकासको वास्तविक आधार मानिसको नैतिक चेतना, विवेक र आत्मज्ञानमा निहित रहेको छ। आत्मज्ञान भनेको आफ्नो वास्तविक स्वरूप, कर्तव्य, क्षमता, सीमितता र जीवनको उद्देश्यलाई गहिरोसँग बुझ्ने प्रक्रिया हो। जब मानिसले आफूलाई चिन्न थाल्छ, तब उसभित्र विवेक जागृत हुन्छ, अहङ्कार कमजोर बन्छ, लोभ मोह घट्दै जान्छ र सत्य, करुणा, इमानदारी तथा उत्तरदायित्वजस्ता नैतिक गुणहरू स्वाभाविक रूपमा विकसित हुन्छन्। यही कारणले आत्मज्ञानलाई नैतिक जीवनको मूल ऊर्जा मानिन्छ।
आजको विश्व अभूतपूर्व वैज्ञानिक प्रगति, सूचना प्रविधिको विस्तार र आर्थिक प्रतिस्पर्धाको युगमा प्रवेश गरेको छ। तर यससँगै हिंसा, भ्रष्टाचार, स्वार्थ, नैतिक विचलन, मानसिक अशान्ति र सामाजिक अविश्वासका चुनौतीहरू पनि तीव्र बन्दै गएका छन्। बाह्य विकासले सुविधा त दिएको छ, तर भित्री चेतनाको विकास हुन नसक्दा मानिस मूल्यविहीनताको संकटमा फस्दै गएको देखिन्छ। यस्तो अवस्थामा आत्मज्ञानले मानिसलाई केवल सफल बन्न होइन, असल बन्न पनि प्रेरित गर्दछ। यसले बाह्य उपलब्धिभन्दा आन्तरिक परिष्कारलाई महत्त्व दिँदै चरित्र निर्माणको आधार तयार गर्दछ।
अध्यात्मिक चेतना मानव जीवनको भित्री रूपान्तरणको मूल आधार हो। यो चेतनाले व्यक्तिलाई केवल बाह्य आचरण सुधार्न मात्र होइन, सोच, भावना र दृष्टिकोणमै गहिरो परिवर्तन ल्याउन प्रेरित गर्छ। जब मानिस आत्मचेतनातर्फ उन्मुख हुन्छ, तब उसको व्यवहार स्वार्थ, अहंकार र प्रतिस्पर्धाबाट मुक्त हुँदै करुणा, सहनशीलता र उत्तरदायित्वतर्फ उन्मुख हुन्छ।
अध्यात्मले जीवनलाई आत्मविकासको यात्राका रूपमा हेर्न सिकाउँछ। यस यात्रामा व्यक्तिले आफ्ना कमजोरीलाई स्वीकृत गर्छ, आत्मसंयम अभ्यास गर्छ र सत्यसँग सामीप्य खोज्छ। यस्तो चेतनाले क्रोधलाई संयममा, लोभलाई सन्तोषमा र द्वेषलाई प्रेममा रूपान्तरण गर्छ।
रूपान्तरण भएको आचरण समाजमै स्पष्ट देखिन्छ। व्यक्ति निर्णय गर्दा केवल आफ्नै हित होइन, समष्टिगत हितलाई पनि ध्यानमा राख्छ। नेतृत्व, शिक्षा, सेवा र दैनिक सम्बन्धमा समेत नैतिकता र मानवीय मूल्यहरू प्रबल हुन्छन्। अध्यात्मिक चेतनाबाट निर्देशित आचरण स्थायी हुन्छ, किनकि यो बाह्य डर वा नियमबाट होइन, भित्री बोध र आत्मअनुशासनबाट जन्मिन्छ। यही आचरणले व्यक्तिलाई शान्त, सन्तुलित र अर्थपूर्ण जीवनतर्फ अग्रसर गराउँछ
जब मानिस आत्मचेतनाको स्तरमा पुग्दछ, तब उसले बाह्य विश्वसँगको सम्बन्ध मात्र होइन, आफूभित्रको शून्यता, लोभ, अहंकार र मोहको जरा पनि देख्न थाल्दछ। यही आत्मावलोकनले उसलाई परिवर्तनको दिशामा धकेल्छ। बाहिरी नियमहरूले व्यवहार नियन्त्रण गर्न सक्छन्, तर अध्यात्मले आत्माको उत्प्रेरणा बदल्दछ। जब उत्प्रेरणा नै परिवर्तन हुन्छ, तब कर्म स्वतः नै धर्ममय हुन्छ।
मानव जीवनमा नेतृत्व व्यक्तिको आन्तरिक चेतना, नैतिक मूल्य र आचरणको प्रतिबिम्ब हो। आत्मज्ञान र अध्यात्मले नै नेतृत्वको वास्तविक रूपान्तरण सम्भव बनाउँछ। जब व्यक्तिले आफ्नो अन्तर्मनलाई बुझ्छ र अध्यात्मको मार्ग अपनाउँछ, तब उसले समाजमा पनि न्याय, सहिष्णुता र सद्भाव फैलाउन सक्षम हुन्छ।तुलसीदासको रामचरितमानसमा रामले रावणसँगको युद्धमा मात्र शक्ति र रणकौशलमा भरोसा गर्नु भएन। उनले धर्म, न्याय, र आत्मसाक्षात्कारलाई नेतृत्वको आधार बनाए।
अध्यात्मिक अभ्यास जस्तै ध्यान, प्रार्थना, सेवा, र संयमले व्यक्तिको मनोवृत्ति परिवर्तन गर्छ। जब नेतृत्वकर्ताले आफ्नो स्वार्थभन्दा माथि उठेर समाजको भलाइलाई प्राथमिकता दिन्छ, तब उसले व्यक्तित्व र निर्णयमा नैतिकता ल्याउँछ। बाइबलमा पनि यसबारे स्पष्ट सन्देश पाइन्छ:
“तिमीहरूले संसारका रीतिरिवाजमा न अड्क, तर मस्तिष्कको नवीकरणबाट आफ्नो रूपान्तरण गर, ताकि परमेश्वरको इच्छा बुझ्न सक।” (रोम १२:२)
यो श्लोकले आन्तरिक चेतना र अध्यात्मिक अभ्यासबाट हुने नेतृत्वको रूपान्तरणको महत्त्व स्पष्ट गर्छ।
समाजमा यसको प्रभाव अत्यन्तै गहिरो हुन्छ। जब नेतृत्वकर्ताले आत्मज्ञान र अध्यात्मको मार्ग अपनाउँछ, तब नीति, कानून, र निर्णयहरूमा न्याय, समानता र सहिष्णुता सुनिश्चित हुन्छ। यसले समाजमा स्थायीत्व, सद्भाव र समृद्धि ल्याउँछ।
आजको संकटग्रस्त समाजमा, जहाँ नैतिक विचलन, स्वार्थप्रेरित व्यवहार, र मूल्यहीनता बढ्दो छ, समाधानको मूल खानी विधि आत्मचेतनामा आधारित आध्यात्मिक शिक्षाको पुनरुत्थान हो। नियमहरू व्यवहारलाई निर्देशित गर्न सक्छन्, तर चेतनाको प्रकाशले नै आत्मालाई दिशा दिन सक्छ। यही आत्मिक क्रान्ति नै मानव सभ्यताको साँचो जागरण हो।
जीवनमा चेतनाको प्रकाश आउँदा मात्र आचरणमा क्रान्ति सम्भव हुन्छ। जब व्यक्ति आफ्नो अन्तरमनलाई जागरुक पार्छ र आध्यात्मिक मूल्यहरू आत्मसात् गर्छ, तब उसको व्यवहारमा स्वभाविक परिवर्तन आउँछ। यस्ता मूल्यहरू सत्य, करुणा, सहिष्णुता, विनम्रता र सेवाभाव जीवनको आधारशिला बन्न पुग्छन्। चेतनाले भरिपूर्ण जीवनले मात्र बाह्य स्वार्थ र अहंकारबाट मुक्त भएर साँचो आनन्द र शान्ति प्राप्त गर्न सक्छ।
जब जीवन अध्यात्मिक चेतनाले सञ्चालित हुन्छ, त्यसको प्रभाव सम्पूर्ण समाज, प्रकृति र मानवीय सम्बन्धमा समावेशी र सकारात्मक रूपान्तरणको कारक बन्छ। यस प्रकारको जीवनशैली विवेक, करुणा र समर्पणको चेतनात्मक अभ्यास हो।
तथ्यतः आचरणको शुद्धता सामाजिक दबाब वा कानुनी दण्डको कारणले टिक्दैन। ती अस्थायी उपायहरू हुन्, जुन व्यक्तिको भित्री भावना परिवर्तन नहुँदासम्म स्थायित्व प्राप्त गर्न सक्दैनन्। तर जब मानिसको चेतनामा आत्मबोध र अध्यात्मको प्रकाश फैलन्छ, तब उसले आफ्ना कर्मलाई मात्र होइन, चिन्तन र वाणीलाई पनि विवेकका आधारमा नियन्त्रित गर्न सिक्दछ। यही शुद्ध चेतनाले अहंकार, लोभ, क्रोधजस्ता विकारलाई हटाएर संयम, क्षमा र प्रेमको बीउ रोप्छ।
आध्यात्मिकता सामाजिक रूपान्तरणको मूल आधार हो। आत्मसंयम, विवेक र सेवा भावनाले सञ्चालित व्यक्ति नै वास्तविक परिवर्तनको संवाहक हो। आध्यात्मिक चेतनाको प्रकाशमा नहिँड्ने समाज धनको सुसज्जा त देखिन्छ, तर मानवीय मूल्यविहीन हुन्छ। त्यस्तो समाजको दीर्घकालीन अस्तित्व संकटमा पर्छ। त्यसैले चेतनाको क्रान्ति र आध्यात्मिक मूल्यहरूको अवलम्बन नै जीवनको सार्थकता, समाजको स्थायित्व र राष्ट्रको समृद्धिको सुनिश्चित मार्ग हो।
आजको सन्दर्भमा, अध्यात्म मार्गको पुनराविष्कार नैतिक प्रशासन, आत्मिक शान्ति र समष्टि चेतनाको निर्माणका लागि एक अनिवार्य सामाजिक आवश्यकता हो। जब प्रत्येक नागरिकले आफ्ना विचार, वाणी र कर्मलाई अध्यात्मिक मूल्यद्वारा निर्देशित गर्न थाल्छ, तब समाजमा शान्ति र समृद्धिको स्वाभाविक वर्षा हुन्छ। यही मार्ग हो जीवनको परम अर्थ, सत्य र परमात्माको साक्षात्कार गर्ने उज्यालो पथ।