डिजिटल मानव बेचबिखन बढ्दो चिन्ता, ‘एन्टी साइबर स्क्याम सेल’ गठनको तयारी - Chaitanya News
  • 2026-07-28
  • 14:50:59
  • मंगलबार,साउन १२, २०८३
  • डिजिटल मानव बेचबिखन बढ्दो चिन्ता, ‘एन्टी साइबर स्क्याम सेल’ गठनको तयारी

    डिजिटल मानव बेचबिखन बढ्दो चिन्ता, ‘एन्टी साइबर स्क्याम सेल’ गठनको तयारी

    काठमाडौँ– मानव बेचबिखनको स्वरूप डिजिटल माध्यमतर्फ तीव्र रूपमा रूपान्तरण हुन थालेपछि नेपाल प्रहरीले साइबर अपराध नियन्त्रणलाई लक्षित गर्दै साइबर ब्युरोअन्तर्गत ‘एन्टी साइबर स्क्याम सेल’ स्थापना गर्ने तयारी गरेको छ।

    विश्व मानव बेचबिखन विरुद्धको दिवसका अवसरमा मंगलबार आयोजित कार्यक्रममा प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले पछिल्ला वर्षहरूमा आकर्षक रोजगारीको प्रलोभनमा विदेश लगेर अनलाइन ठगी तथा साइबर अपराधमा संलग्न गराउने ‘साइबर स्लेभरी’ र ‘फोर्स्ड क्रिमिनालिटी’का घटनाहरू बढ्दै गएको बताए।

    उनका अनुसार अधिकांश पीडितहरू अनलाइन विज्ञापन तथा डिजिटल सम्पर्कमार्फत अपराधीको जालमा फस्ने गरेका छन्। यस्ता गिरोहको पहिचान र नियन्त्रणका लागि ‘एन्टी साइबर स्क्याम सेल’ आवश्यक भएको भन्दै यसको प्रस्ताव अघि बढाइएको उनले जानकारी दिए।

    प्रहरीका तथ्याङ्कअनुसार पछिल्ला तीन वर्षमा मानव बेचबिखन तथा ओसारपसारसम्बन्धी ५३० वटा मुद्दा दर्ता भएका छन्। ती घटनामा ७१० जना पीडितमध्ये ६१० जना अर्थात् करिब ८६ प्रतिशत महिला तथा बालबालिका छन्। दक्षिणपूर्वी एसिया र भारतबाट उद्धार गरिएका २,०५२ जनामध्ये १,७८७ जना अर्थात् ८७ प्रतिशत महिला तथा बालबालिका रहेका छन्। संयुक्त राष्ट्रसङ्घको प्रतिवेदनअनुसार दक्षिण एसियामा मानव बेचबिखनबाट प्रभावित मुलुकहरूमध्ये नेपाल शीर्ष चारभित्र पर्छ।

    महानिरीक्षक कार्कीले मानव बेचबिखनलाई अब परम्परागत अपराधका रूपमा मात्र नभई साइबर, आर्थिक तथा अन्तर्राष्ट्रिय सङ्गठित अपराधसँग जोडेर अनुसन्धान गर्नुपर्ने आवश्यकता औँल्याए। अबको अनुसन्धानमा अपराधी पहिचानसँगै पीडितको शारीरिक, मानसिक र आर्थिक क्षतिको मूल्याङ्कन गरी क्षतिपूर्तिको मागसमेत अघि बढाइने उनले बताए।

    साथै, वैदेशिक रोजगारीमा रहेका नेपालीको सुरक्षा र कानुनी सहजीकरणका लागि भारतसँगै खाडी मुलुक, मलेसिया, युरोप र अमेरिकामा पनि प्रहरी सहचारीको व्यवस्था गर्नुपर्ने आवश्यकता रहेको उनको भनाइ थियो।