आज देशका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना - Chaitanya News
  • 2026-07-27
  • 09:43:04
  • सोमबार,साउन ११, २०८३
  • आज देशका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना

    आज देशका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना

    काठमाडौँ– जल तथा मौसम पूर्वानुमान महाशाखाले दिएको जानकारी अनुसार, देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपासमा रहेको छ।

    हाल हिमाली र पहाडी भू–भागमा साधारणतया बादल तथा तराई भू–भागमा आंशिक बादल लागेको छ। कोशी र बागमती प्रदेशका केही स्थान तथा गण्डकी प्रदेशको एक–दुई स्थानमा मेघगर्जन तथा चट्याङसहित हल्कादेखि मध्यमसम्मको वर्षा भइरहेको महाशाखाले जानकारी दिएको छ।

    यस्तै, महाशाखाका अनुसार आज दिउँसो देशको हिमाली र पहाडी भू–भागमा साधारणतया बादल लाग्नेछ। बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भू–भागमा पनि साधारणतया बादल लाग्नेछ।

    मधेश तथा कोशी प्रदेशका तराई भू–भागमा आंशिक बादल लाग्नेछ। देशका हिमाली भू–भागका केही स्थानमा तथा पहाडी भू–भागका धेरै स्थानमा मेघगर्जन तथा चट्याङसहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना छ।

    लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भू–भागका धेरै स्थानमा तथा कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका तराई भू–भागका थोरै स्थानमा मेघगर्जन तथा चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ। कर्णाली प्रदेशको पहाडी भूभाग तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशको पहाडी र तराई भू–भागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।

    आज राति देशभर साधारणतया बादल लाग्नेछ। देशका हिमाली र पहाडी भूभागका केही स्थानमा मेघगर्जन तथा चट्याङसहित मध्यमसम्मको वर्षा तथा हिमपातको सम्भावना छ।