राहदानी सेवालाई थप सहज र प्रभावकारी बनाउँदै परराष्ट्र मन्त्रालय, सबै जिल्लाबाट आवेदन दिन सकिने - Chaitanya News
  • 2026-07-24
  • 17:44:37
  • शुक्रबार,साउन ०८, २०८३
  • राहदानी सेवालाई थप सहज र प्रभावकारी बनाउँदै परराष्ट्र मन्त्रालय, सबै जिल्लाबाट आवेदन दिन सकिने

    राहदानी सेवालाई थप सहज र प्रभावकारी बनाउँदै परराष्ट्र मन्त्रालय, सबै जिल्लाबाट आवेदन दिन सकिने

    काठमाडौँ– परराष्ट्र मन्त्रालयले नेपाली नागरिकलाई सहज, सरल र प्रभावकारी रूपमा राहदानी सेवा उपलब्ध गराउन आफू प्रतिबद्ध रहेको जनाएको छ।

    मन्त्रालयका सहसचिव एवं प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीले शुक्रवार आयोजित नियमित पत्रकार सम्मेलनमा राहदानी वितरणको पछिल्लो अवस्था र सुधारका प्रयासहरूबारे जानकारी गराएका हुन्।

    प्रवक्ता क्षेत्रीका अनुसार राहदानीको नयाँ प्रणाली कार्यान्वयनमा आएसँगै सेवा प्रवाहलाई थप व्यवस्थित बनाइएको छ। २०८३ असार २९ देखि सुरु भएको नयाँ प्रणालीमार्फत हालसम्म ८ हजार २ सय ६० थान राहदानी छापिसकिएको मन्त्रालयले जनाएको छ। हाल राहदानी विभागसहित देशभरका ७७ वटै जिल्ला प्रशासन कार्यालय, ६ वटा इलाका प्रशासन कार्यालय र विदेशस्थित ३९ वटा (३१ नियमित र थप ८ वटा) नेपाली नियोगहरूबाट राहदानीका लागि आवेदन दिन सकिने व्यवस्था मिलाइएको छ। नयाँ प्रणाली कार्यान्वयनका क्रममा केही प्राविधिक समस्याहरू देखिएको स्वीकार गर्दै प्रवक्ता क्षेत्रीले ती समस्याहरूको समाधान प्राविधिक टोलीबाट भइरहेको बताए।

    छापिएका राहदानीहरू सम्बन्धित जिल्ला तथा इलाका प्रशासन कार्यालयहरूमा शीघ्र पुर्‍याउन मन्त्रालयले हुलाक विभागसँग कार्य सम्झौता गरिसकेको छ। यस व्यवस्थाले राहदानी वितरण प्रक्रियामा हुने ढिलाइलाई न्यूनीकरण गर्ने विश्वास लिइएको बताए।

    मन्त्रालयले राहदानी सेवामा थप सरलीकरण गर्दै अब नागरिकले जुनसुकै जिल्लाबाट पनि राहदानीका लागि आवेदन दिन सक्ने व्यवस्था मिलाउन आवश्यक प्रक्रिया सुरु गरिसकेको जानकारी समेत दिएको छ। यसअघि स्थायी ठेगाना भएका जिल्ला वा काठमाडौँबाट मात्र आवेदन दिन सकिने प्रावधान रहेकोमा नयाँ व्यवस्था लागू भएपछि सेवाग्राहीलाई थप सहज हुनेछ।