जलवायुप्रति जनचेतना जगाउने कांग्रेस प्रयास, ५ किलोमिटर ‘ग्रिन रन’ आयोजना - Chaitanya News
  • 2026-07-22
  • 10:08:20
  • बुधबार,साउन ०६, २०८३
  • जलवायुप्रति जनचेतना जगाउने कांग्रेस प्रयास, ५ किलोमिटर ‘ग्रिन रन’ आयोजना

    जलवायुप्रति जनचेतना जगाउने कांग्रेस प्रयास, ५ किलोमिटर ‘ग्रिन रन’ आयोजना

    काठमाडौं– नेपाली कांग्रेसले जलवायु परिवर्तनप्रति जनचेतना जगाउने उद्देश्यले काठमाडौं उपत्यकामा ‘ग्रिन रन’ आयोजना गरेको छ। आज (बुधबार) बिहान आयोजित कार्यक्रममा कांग्रेस सभापति गगनकुमार थापा लगायतका नेता–कार्यकर्ताहरु सहभागी भए।

    जननायक बीपी कोइरालाको ४४औं स्मृति दिवस विभिन्न कार्यक्रमहरु आयोजना गरेर मनाउने क्रममा कांग्रेसको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले आज ‘ग्रिन रन’ आयोजना गरेको हो।

    कांग्रेस उपसभापति एवं प्रतिष्ठानका प्रमुख विश्वप्रकाश शर्माका अनुसार ‘जलवायु जनचेतना जगाउन जुटौं’ नाराका साथ पाँच किलोमिटर दौड आयोजना गरिएको हो।

    दौडलगत्तै जावलाखेल चोक, फाल्चामा ‘जलवायु परिवर्तनको चुनौती स् निराकरण कसरी’ शीर्षकमा विज्ञहरुसहितको समूहगत छलफल हुनेछ। समूहगत छलफल चलिरहँदा, सोही स्थलमा जलवायु परिवर्तनका चुनौती र सम्भावना झल्काउने चित्रहरु सुपरिचित चित्रकारहरुद्वारा पेन्टिङ गरिने छ।

    यसैगरी साउन ७ गते पार्टीको नवीन अभियान घोषणा सहितको कार्यक्रम हुनेछ। कांग्रेसले ‘ग्रीन रन’ मा सहभागी हुनेको संख्याका आधारमा प्रतिव्यक्ति निश्चित रकम आफ्नो कोषबाट रकम जम्मा गरेर एक ‘मानवीय सहयोग कोष’ खडा गर्ने जनाएको छ।

    सो कोषको रकम पछिल्लो समय विस्थापित गरिएका सुकुम्वासी परिवारका वृद्ध र बालबालिकाको हितमा खर्च गरिने उनले उल्लेख गरे।