काठमाडौं– नेपाल प्रहरीले सार्वजनिक गरेको विवरणअनुसार देशका विभिन्न जिल्लामा बाढी र पहिरोका कारण सोमबार बिहान ६ः५५ बजेसम्म ९ स्थानमा मुख्य राजमार्ग अवरुद्ध भएका छन्। केही सडक पूर्ण रूपमा बन्द छन् भने केहीमा एकतर्फी मात्रै सवारी सञ्चालन भइरहेको प्रहरीले जानकारी दिएको छ।
कोशी प्रदेशमा भोजपुरमा मध्यपहाडी लोकमार्गमा बाढीका कारण एकतर्फी सवारी सञ्चालन भइरहेको छ। इलामको मेची राजमार्ग (राजदुवाली–ताल्चाजुङ सडक) अविरल वर्षाका कारण पूर्णरूपमा अवरुद्ध छ। प्रहरीले यो सडकको वैकल्पिक मार्ग प्रयोग गर्न सकिने जनाएको छ।
यस्तै, खोटाङको मध्यपहाडी लोकमार्गअन्तर्गत दिक्तेल रूपाकोट मझुवागढी–६ मात्तिम क्षेत्रमा पहिरोका कारण सडक पूर्णरूपमा बन्द छ।
बागमती प्रदेशमा काभ्रेको बीपी राजमार्गअन्तर्गत खुर्कोट–नेपालथोक–काभ्रेभञ्ज्याङ सडकखण्डमा सम्भावित बाढीको जोखिमका कारण सोमबार साँझ ६ बजेदेखि मंगलबार बिहान ४ बजेसम्म सवारी सञ्चालन पूर्ण रूपमा रोकिएको छ। मंगलबार बिहान ४ बजेदेखि साँझ ६ बजेसम्म भने अवस्थाको मूल्याङ्कन गर्दै सवारी सञ्चालन गरिने प्रहरीले जनाएको छ।
सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–४ (तातोपानी जाने बाटो) र वडा नं.२ कोदारीस्थित अरनिको राजमार्गमा पहिरोका कारण दुई स्थानमा पूर्ण अवरोध रहेको छ।
मकवानपुरको कान्तिलोकपथ (हेटौंडा–भिमफेदी–बागमती–ललितपुर सडकखण्ड) मा पनि सम्भावित बाढी र पहिरोको जोखिमका कारण साँझ ५ बजेदेखि बिहान ५ बजेसम्म सबै प्रकारका सवारी साधन सञ्चालन रोकिएको छ।
यस्तै, रसुवाको पासाङ ल्हामु सडकखण्डअन्तर्गत गोसाइँकुण्ड गाउँपालिका–४ बोगटेखोला क्षेत्रमा पहिरोका कारण एकतर्फी सवारी सञ्चालन भइरहेको छ।
गण्डकी प्रदेशको बागलुङस्थित कालीगण्डकी करिडोर सडकखण्ड र सुदूरपश्चिम प्रदेशको दार्चुलास्थित महाकाली राजमार्गमा पहिरोका कारण पूर्ण रूपमा यातायात अवरुद्ध रहेको नेपाल प्रहरीले जनाएको छ।
प्रहरीले यात्रा अघि सम्बन्धित सडकको अवस्थाबारे जानकारी लिएर मात्रै यात्रा गर्न तथा जोखिमयुक्त क्षेत्रमा सतर्कता अपनाउन आग्रह गरेको छ।