काठमाडौँ– बागमती प्रदेश सरकारले प्रशासनिक संरचना चुस्त बनाउने निर्णयअनुसार आजदेखि मन्त्रालयको संख्या १४ बाट घटाएर ८ मा झारेको छ। नयाँ आर्थिक वर्ष २०८३/८४ को सुरुवातसँगै प्रदेश मन्त्रिपरिषद्को यसअघिको निर्णय कार्यान्वयनमा आएको हो।
गत वैशाख २२ गते बसेको मन्त्रिपरिषद् बैठकले मन्त्रालय संख्या घटाउने निर्णय गरेको थियो। सोही निर्णयअनुसार आजदेखि मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसहित कुल ८ मन्त्रालय कायम भएका छन्।
मन्त्रालयको नयाँ संरचनाअनुसार मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले मन्त्रालयहरूको कार्यविभाजन गर्ने तयारी गरेका छन्। सरकारका प्रवक्ता तथा आर्थिक मामिला एवं योजना मन्त्री प्रभात तामाङका अनुसार घटाइएको संरचनाअनुसार हाल रहेका ६ मन्त्रीको जिम्मेवारी पुनः निर्धारण गरिनेछ।
अब बागमती प्रदेशमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, आन्तरिक मामिला, कानुन तथा सहकारी मन्त्रालय, आर्थिक मामिला तथा योजना मन्त्रालय, खानेपानी, ऊर्जा तथा सिँचाइ मन्त्रालय, भौतिक पूर्वाधार विकास मन्त्रालय, कृषि, पशुपन्छी, वन तथा वातावरण मन्त्रालय, स्वास्थ्य तथा सामाजिक विकास मन्त्रालय तथा उद्योग, पर्यटन, श्रम तथा यातायात मन्त्रालय सञ्चालनमा रहनेछन्।
यसअघि १४ मन्त्रालय रहेको प्रदेश सरकारमा नेपाली कांग्रेसले मुख्यमन्त्रीसहित ८ मन्त्रालय र नेकपा एमालेले ६ मन्त्रालयको जिम्मेवारी सम्हाल्दै आएका थिए। मन्त्रालय संख्या ८ मा सीमित भएसँगै सत्ता साझेदार दुवै दलले आफ्ना केही मन्त्री फिर्ता बोलाउनुपर्ने अवस्था बनेको छ।