६ सचिवको सरुवा, राधिका अर्याल जगेडामा - Chaitanya News
  • 2026-07-16
  • 14:14:57
  • बिहिबार,आषाढ ३२, २०८३
  • ६ सचिवको सरुवा, राधिका अर्याल जगेडामा

    ६ सचिवको सरुवा, राधिका अर्याल जगेडामा

    काठमाडौँ– सरकारले उच्च प्रशासनिक तहमा व्यापक जिम्मेवारी हेरफेर गर्दै ६ सचिवको सरुवा गरेको छ। मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न मन्त्रालय तथा निकायका सचिवहरूको जिम्मेवारी परिवर्तन गर्ने निर्णय गरेको हो।

    निर्णयअनुसार महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक तथा सामाजिक सुरक्षा मन्त्रालयकी सचिव राधिका अर्याललाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको जगेडामा राखिएको छ। उनको स्थानमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव कृष्णबहादुर राउतलाई पठाइएको छ।

    उद्योग मन्त्रालयको सचिवको जिम्मेवारी भने अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा कार्यरत सचिव नारायणप्रसाद शर्मा दुवाडीले सम्हाल्ने भएका छन्। त्यस्तै, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा जगेडामा रहेका डिल्लीराम शर्मालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा सरुवा गरिएको छ।

    सरकारले हालै गठन गरेको विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालयमा राष्ट्रिय सतर्कता केन्द्रका सचिव दीनानाथ मिश्रलाई खटाएको छ। मिश्रको स्थानमा राष्ट्रिय सतर्कता केन्द्रको जिम्मेवारी विश्वबाबु पुडासैनीलाई दिइएको छ।

    मन्त्रिपरिषद्को निर्णयसँगै सरुवा गरिएका सचिवहरूको नयाँ जिम्मेवारी प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको वेब पोर्टलमा समेत अद्यावधिक गरिएको छ।