काठमाडौं– नेपालले सन् २०२८ को आईसीसी टी–२० विश्वकप छनोट यात्रामा महत्वपूर्ण सहजता पाएको छ। अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले सार्वजनिक गरेको नयाँ छनोट संरचनाअनुसार नेपालले एसिया क्षेत्रीय छनोट खेल्नुपर्ने छैन र सिधै ग्लोबल छनोटमा प्रतिस्पर्धा गर्ने भएको छ।
आईसीसीका अनुसार सन् २०२६ को टी–२० विश्वकप खेलेका तर आगामी विश्वकपका लागि स्वतः छनोट हुन नसकेका सबै टोलीले ग्लोबल छनोटमा सिधै स्थान पाउनेछन्। नेपाल पनि यही व्यवस्थाअन्तर्गत ग्लोबल छनोटमा पुगेको हो।
नेपालले टी–२० विश्वकप २०२६ मा समूह चरण पार गर्न नसके पनि विश्वकपमा सहभागिताका आधारमा ग्लोबल छनोटको टिकट सुरक्षित गरेको हो। यसले टोलीलाई क्षेत्रीय छनोटको अतिरिक्त चरणबाट मुक्त बनाएको छ।
ग्लोबल छनोटमा अफ्रिका, एसिया र युरोपबाट दुई–दुई तथा अमेरिका र पूर्वी एसिया–प्रशान्त (ईएपी) क्षेत्रबाट एक–एक गरी क्षेत्रीय छनोटबाट आउने आठ टोली पनि सहभागी हुनेछन्।
यस छनोटबाट प्रत्येक क्षेत्रका उत्कृष्ट एक–एक टोलीसँगै समग्र प्रदर्शनका आधारमा उत्कृष्ट थप तीन टोली गरी सात टोलीले टी–२० विश्वकप २०२८ मा स्थान बनाउनेछन्। आईसीसीले छनोटका लागि न्यूनतम प्रदर्शनको मापदण्डसमेत लागू गर्ने जनाएको छ।
यसअघि क्षेत्रीय छनोटमार्फत मात्र विश्वकप यात्राको प्रक्रिया अघि बढ्ने व्यवस्था रहेकामा आईसीसीले फेरि ग्लोबल छनोट प्रणाली लागू गरेको हो। साथै, टी–२० विश्वकपको प्रतियोगिता ढाँचामा पनि परिवर्तन गरिएको छ, जसलाई आईसीसी सम्मेलनले पारित गरिसकेको भए पनि अन्तिम स्वीकृति नोभेम्बरमा हुने बैठकबाट दिइनेछ।