लोकसेवा तयारी गरिरहेका हजारौँ युवाका लागि प्रेरणाका स्रोत मानिएका नेपाल सरकारका सहसचिव विजय कुमार शर्माले हालै सहसचिव परीक्षामा प्रथम स्थान हासिल गर्दै उल्लेखनीय सफलता प्राप्त गर्नुभएको छ। यही सफलताको यात्रा, अध्ययन रणनीति, समय व्यवस्थापन, अनुशासन, निरन्तरता र सकारात्मक सोचका विषयमा केन्द्रित रहेर चैतन्य खबरले उहाँसँग विशेष संवाद गरेको छ ।
यस अन्तर्वार्तामा उहाँले प्रतिस्पर्धात्मक परीक्षामा सफलता हासिल गर्ने व्यावहारिक उपाय, असफलतालाई अवसरका रूपमा लिने दृष्टिकोण, भाग्यभन्दा कर्म र निरन्तर मिहिनेतको महत्त्व तथा युवाले अपनाउनुपर्ने सोचबारे आफ्ना अनुभव साझा गर्नुभएको छ। साथै नेपालको निजामती सेवा, सार्वजनिक प्रशासन, डिजिटल सुशासन, नीतिनिर्माण, प्रशासनिक सुधार र भविष्यको प्रविधिमैत्री प्रशासन निर्माणसम्बन्धी उहाँका स्पष्ट धारणा पनि प्रस्तुत भएका छन्।
१– आफ्नो बाल्यकालदेखि नै उत्कृष्ट शैक्षिक नतिजा ल्याउँदै, निरन्तरतालाई कायम राख्दै यहाँ आज सहसचिव को स्थानमा पुग्नुभएको छ। यहाँको यो सफलताको पछाडिको मुख्य रहस्य के हो ?
मेरो सफलताको पछाडि मेरो निरन्तर प्रयास, अनुशासन र समयको सही सदुपयोग छ। मैले कक्षा १ देखि नै सरकारी विद्यालयमा पढेको हुँ र सधैं प्रथम स्थान हासिल गर्न प्रयास गरें। स्नातक तहसम्म पनि मैले आफ्नो अध्ययनमा निरन्तरता दिएँ र क्याम्पस टप गर्न सफल भएँ। मेरो विचारमा, हामीले जुनसुकै पेसामा रहे पनि वा जे काम गरे पनि त्यसमा आफ्नो १००५ दिने प्रयास गर्नुपर्छ। मेरो एउटा विशेष उत्प्रेरणात्मक मन्त्र छ म अरू कसैसँग प्रतिस्पर्धा गरिरहेको छैन, म आफैंसँग प्रतिस्पर्धा गरिरहेको छु। आफ्नो कामलाई कसरी निरन्तर सुधार गर्ने भन्नेमा मेरो ध्यान सधैं केन्द्रित रहन्छ। हरेक कुरालाई ध्यानपूर्वक सुन्ने, बुझ्ने, मनन गर्ने र पटक९पटक प्रयोगमा ल्याउने गर्दा नै गल्ती९कमजोरी थाहा पाउने मौका मिल्छ।
२– तर जीवनको यात्रामा सधैं सोचे जस्तो कहाँ हुन्छ र ? कहिलेकाहीँ त असफलता पनि हात लाग्छ होला नि। त्यस्तो बेला आफूलाई कसरी सम्हाल्नुहुन्छ ?
अतिथिस् हो, जीवनका विभिन्न कालखण्डमा असफलता वा भनौं अप्ठ्याराहरू अवश्य आउँछन्। यसलाई म जीवनका अवरोधु भन्छु। यी अवरोधहरूले जीवनमा घर्षण पैदा गर्छन्। र, घर्षणबाट ताप निस्कन्छ। त्यही तापले मानिसलाई अगाडि बढ्न वा कहिलेकाहीँ नरम हुन मद्दत गर्छ। मेरो जीवनमा पनि पारिवारिक समस्याले गर्दा धेरै राम्रो विद्यार्थी हुँदाहुँदै पनि विज्ञान पढ्न सकिनँ। त्यसपछि अंग्रेजीमा आफ्नो भविष्य खोजें। मेरो जीवनमा एउटा ठूलो दुर्घटना पनि भयो। तर ती सबै अवरोधले मेरो सपनालाई रोक्न सकेन। म सधैं सम्झन्छु, आखिर जीवन भनेको शरीर र आत्माको बीचको स्वास रहेछ। जबसम्म स्वास चलिरहेको छ, तबसम्म संघर्ष गरिरहनुपर्छ।
३– कतिपयले लोकसेवा आयोगको तयारी गर्दा सधैं असफल भइन्छ भन्दै गुनासो गर्ने गर्छन्। उहाँहरूलाई यहाँको सुझाव के छ ?
मलाई लाग्दैन कि यो लक्ष्य सेवाु (भाग्य) हो। धेरैले यसलाई आफ्नो असफलताको दोष दिन्छन्। मुख्य कुरा हामी कस्तो र कति मिहिनेत गर्छौं भन्ने हो। धेरै मानिसहरू आफ्नो व्यक्तिगत लक्ष्य निर्धारण नगरी अरूको सिको गरेर वा अरूको सफलतामा ईर्ष्या गरेर लोकसेवाको तयारीमा लाग्छन्। यसो गर्दा सफलता हात लाग्दैन। पहिले आफ्नो क्षमता चिन्नुपर्छ र लक्ष्य किटान गर्नुपर्छ। लोकसेवा आयोगले त योग्यता, दक्षता र सक्षमताको परीक्षण गर्ने हो। त्यहाँ पारदर्शिता हुन्छ, कुनै भाग्यको खेल हुँदैन। त्यसैले पाठ्यक्रममा आधारित भएर पढ्ने, पाठ्यपुस्तकका साथै सन्दर्भ सामग्रीहरूलाई विभिन्न दृष्टिकोणबाट हेर्ने र नयाँ–नयाँ प्रविधिको (जस्तैः (एआई) सहयोग लिने गर्नुपर्छ। आफ्नो कमजोरी थाहा पाउने प्रयास गर्नुपर्छ र त्यसलाई सुधार गर्दै जानुपर्छ। यदि हामीले मिहिनेत गर्यौं भने पक्कै पनि सफलता प्राप्त गर्न सकिन्छ।
४– सफल वा असफल हुनुको पछाडि के कुराले काम गरेको हुन्छ ?
मेरो बुझाइमा, यदि कुनै व्यक्तिले आफ्नो कार्यक्षेत्र र आफ्नो सही पहिचान गर्न सकेन भने उनीहरू प्रायस् असफल हुन्छन्। सफलता त हरेक पेसा र स्थानमा हुन्छ, त्यसलाई कसरी प्रयोग गर्ने भन्ने कुरा महत्त्वपूर्ण छ। कहिलेकाहीँ आर्थिक अवस्था, पारिवारिक पृष्ठभूमि वा शारीरिक अवस्थाले पनि मानिसलाई सफल हुन नदिने विभिन्न आयामहरू हुन सक्छन्।
५– कतिपयले भाग्यलाई दोष दिन्छन्, यहाँको विचारमा भाग्यको भूमिका कत्तिको हुन्छ ?
भाग्य भन्ने कुरा केवल कर्म गर्नेहरूका लागि एउटा सहायक तत्व मात्र हो। भाग्यको भर परेर बस्नेहरूले कहिल्यै प्रगति गर्दैनन्। मेरो स्पष्ट धारणा के छ भने, कर्म नै भाग्य हो। यदि तपाईंले सही दिशामा मिहिनेत गरिरहनुभएको छ भने, परिणाम स्वतः सकारात्मक आउँछ। धेरै मानिसहरू असफलतासँग डराउँछन्। तर मैले असफलतालाई कहिल्यै हारको रूपमा हेरिनँ, बरु त्यसलाई एउटा शिक्षा को रूपमा लिएँ। हरेक असफलताले मलाई के सिकाउँछ भने, अर्को पटक मैले कुन बाटो अपनाउनु पर्छ। त्यसैले, गुनासो गर्नुभन्दा सुधार गर्नतिर लाग्नु नै बुद्धिमानी हो।
६– आजका युवापुस्तालाई यहाँको सुझाव के छ , विशेष गरी जो लोकसेवा प्रतिस्पर्धाको दौडमा छन्।
युवाहरूलाई मेरो एउटै सुझाव छ—आफ्नो लक्ष्य प्रति सधैं स्पष्ट रहनुहोस्। प्रतिस्पर्धा अरूसँग होइन, आफैंसँग गर्नुहोस्। आजको संसारमा धेरै मानिसहरू अरूको देखासिकीमा आफ्नो बाटो बिराउँछन्। तर, आफ्नो क्षमता, रुचि र सीपलाई चिनेर अगाडि बढ्ने व्यक्ति नै जीवनमा सन्तुष्ट हुन सक्छ। धेरै धेरै पढ्नु मात्र सफलता होइन, पढेको कुरालाई व्यवहारमा कसरी उतार्ने र परिस्थितिसँग कसरी जुध्ने भन्ने कुराले ठूलो महत्व राख्छ। समयको मूल्य बुझ्नुहोस्, किनकि गएको समय कहिल्यै फिर्ता आउँदैन। र अन्त्यमा, कहिल्यै नडराउनुहोस्। साहस नै सफलताको पहिलो खुड्किला हो।
७– धेरै मानिसहरू असफलताको डरले नयाँ काम थाल्न डराउँछन्। उहाँहरूलाई यहाँको सल्लाह के छ ?
असफलता भन्ने कुरा जीवनको अभिन्न पाटो हो। म असफलतालाई कहिल्यै हारको रूपमा हेर्दिनँ, बरु यसलाई एउटा ठूलो शिक्षा को रूपमा लिन्छु। हरेक पटक तपाईं असफल हुँदा तपाईंले केही नयाँ कुरा सिक्नुहुन्छ, जुन कुरा सफल हुँदा सिक्न सम्भव छैन। त्यसैले, असफलतासँग डराएर रोकिनु हुँदैन। बरु, आफू कहाँ चुक्यौं भनेर समीक्षा गर्ने र फेरि दोब्बर साहसका साथ अगाडि बढ्ने प्रयत्न गर्नुपर्छ। गुनासो गर्नुभन्दा सुधार गर्नतिर लाग्नु नै बुद्धिमानी हो।
८– तर धेरै क्षमतावान मानिसहरू पनि प्रतिस्पर्धामा पछाडि परिरहेका हुन्छन्, यस्तो किन हुन्छ ?
हेर्नुहोस्, योग्यता र क्षमता हुँदाहुँदै पनि प्रतिस्पर्धाको परीक्षामा असफलता भोग्नु एउटा गम्भीर विषय हो। कतिपय मानिसहरूमा त्यो गर्दा पनि भएनू भन्ने हीनताबोध हुन्छ। यसलाई सुधार्न निरन्तरता आवश्यक छ। हाम्रो समाजमा सुधारलाई फ्याट्टैू खोज्ने बानी छ, तर सुधार भनेको निरन्तर चलिरहने प्रक्रिया हो।
९– मानिसहरू सफलताको शिखरमा पुग्न चाहन्छन् तर प्रक्रियामा धेरै अलमलिन्छन्। यहाँले जीवनलाई कसरी हेर्नुहुन्छ ?
हेर्नुहोस्, जीवनको यात्रामा सफल हुनु भनेको कुनै जादु होइन। यो निरन्तरको अभ्यास र सही दृष्टिकोणको प्रतिफल हो। धेरै मानिसहरू छोटो बाटो खोज्छन्, तर दिगो सफलताको लागि त कठिन परिश्रमु को विकल्प नै छैन। मैले आफ्नो जीवनमा जहिले पनि एउटा कुरालाई आत्मसात् गरें—त्यो हो निरन्तरताु। चाहे त्यो अध्ययन होस्, काम होस् वा कुनै पनि क्षेत्र, जबसम्म तपाईंले त्यसमा आफ्नो शत–प्रतिशत मिहिनेत र समय दिनुहुन्न, तबसम्म अपेक्षित नतिजा आउँदैन।
१०– प्रशासनिक क्षेत्रमा तपाईंको योगदान स्पष्ट रूपमा देखाएको छ। अब तपाईंको कार्यकालमा सार्वजनिक प्रशासनलाई कस्तो दिशामा लैजाने सोच छ ?
मेरो दृष्टिमा भविष्यको सार्वजनिक प्रशासनको पहिलो र सबैभन्दा महत्त्वपूर्ण आधार पूर्ण डिजिटल रूपान्तरण (डिजिटाइजेसन) हो। अहिले हामी ई–गभर्नेन्सको प्रारम्भिक चरणमा छौँ, जहाँ केही सेवा मात्र अनलाइनमार्फत उपलब्ध छन्। तर मेरो लक्ष्य आगामी एक–दुई वर्षभित्र अधिकांश सार्वजनिक सेवा तथा प्रशासनिक प्रक्रियालाई पूर्ण रूपमा डिजिटल बनाउनु हो।
नागरिकले सरकारी सेवा सहज रूपमा प्राप्त गर्न सकून् भन्ने उद्देश्यले मोबाइल फोनमार्फत नै अधिकांश सेवा लिन सकिने व्यवस्था विकास गर्नुपर्छ भन्ने मेरो विश्वास छ। यो प्रशासनिक रूपान्तरणको एउटा महत्त्वपूर्ण चरण हो।
यससँगै प्रशासनिक संयन्त्रभित्र समन्वय, सहकार्य र कार्यकुशलताको संस्कृति विकास गर्न आवश्यक छ। यसले अन्ततः नागरिकको विश्वास जित्ने सुदृढ संस्थागत प्रणाली निर्माण गर्न सहयोग पुर्याउँछ। भविष्यको सार्वजनिक प्रशासन अनावश्यक संरचनाभन्दा छरितो, चुस्त र प्रविधिमैत्री हुनुपर्छ। अब भौतिक पूर्वाधारभन्दा पनि छिटो, सहज र गुणस्तरीय सेवा प्रवाहमा जोड दिनुपर्ने समय आएको छ।
आजका सरकारी संस्थाहरू परम्परागत शैलीका विशाल संरचनाभन्दा पनि डिजिटल र भर्चुअल प्रणालीमा आधारित हुनुपर्छ, जहाँ भौतिक उपस्थितिभन्दा सूचना प्रविधि र डिजिटल माध्यमको प्रभावकारी प्रयोगलाई प्राथमिकता दिइन्छ।
अर्को महत्त्वपूर्ण चुनौती भनेको संघ, प्रदेश र स्थानीय तहका प्रशासनिक सेवाबीच प्रभावकारी समन्वय कायम गर्नु हो। हाल यी तीनै तहमा कार्यरत कर्मचारीबीच समान कार्यसंस्कृति, साझा मूल्य र एकरूपताको अभाव देखिन्छ।
मेरो दृष्टिमा यी तीनै तहका कर्मचारीलाई एउटै राष्ट्रिय सेवा अवधारणाभित्र समेट्न आवश्यक छ। कर्मचारीहरू विभिन्न समयमा र फरक–फरक प्रक्रियाबाट सेवामा प्रवेश गरेका कारण मनोवैज्ञानिक तथा कार्यशैलीगत भिन्नता हुनु स्वाभाविक हो। तर त्यसलाई हटाउन ‘राष्ट्रिय सेवा’ को अवधारणा कार्यान्वयन गर्नुपर्छ।
संघ, प्रदेश र स्थानीय तहका सेवाहरूलाई कानुनी रूपमा एउटै राष्ट्रिय सेवा प्रणालीअन्तर्गत व्यवस्थित गर्न सकिएमा कर्मचारीबीच समन्वय, कार्यकुशलता, समान अवसर र सेवा प्रवाहको प्रभावकारिता उल्लेखनीय रूपमा बढ्नेछ। मेरो प्रयास यही एकीकृत, आधुनिक र राष्ट्रिय मूल्यमा आधारित प्रशासनिक संरचना निर्माणमा केन्द्रित रहनेछ।
११– निजामती सेवामा लामो अनुभव संगाल्नुभएको छ, यहाँको विचारमा आजको हाम्रो निजामती प्रशासनको अवस्थालाई कसरी हेर्न सकिन्छ ?
निजामती सेवा एउटा यस्तो संयन्त्र हो, जहाँ प्रवेश गरिसकेपछि धेरै कुराहरूमा सन्तुलन कायम गर्नुपर्ने हुन्छ। निजामती प्रशासनमा आज जुन प्रकारको बहस चलिरहेको छ, त्यो वास्तवमा सकारात्मक छ। तर हामीले के कुरा बुझ्नुपर्छ भने, निजामती सेवामा रहेका व्यक्तिहरू सबै शिक्षित, दक्ष र क्षमतावान हुनुहुन्छ। विश्वविद्यालयको डिग्री र संसारको ज्ञान दुवै हासिल गरेका व्यक्तिहरू प्रशासनमा हुनुहुन्छ। मुख्य चुनौती भनेको त्यो ज्ञानलाई कार्यसम्पादनमाु कसरी रूपान्तरण गर्ने भन्ने नै हो।
१२– तर आम जनतामा निजामती कर्मचारीहरूले सोचेजस्तो काम गर्न सकेनन् भन्ने गुनासो त छ नि ?
त्यो गुनासो आउनुको पछाडि केही यथार्थहरू छन्। पहिलो कुरा, हाम्रो कार्यसंस्कृति मा अझै पनि केही परिमार्जन आवश्यक छ। हामीले काम गर्ने शैलीमा थोरै परिवर्तन ल्याउनु जरुरी छ। निजामती सेवामा काम गर्नेहरू सेलिब्रिटी होइनन्, उनीहरूले पर्दा पछाडि बसेर काम गर्नुपर्छ। जब कतैबाट प्रतिवाद हुँदैन, त्यहाँ दोष लगाउने काम हुन्छ, जुन स्वभाविक हो। मेरो बुझाइमा, गुनासो गर्नुभन्दा पनि हामीले उपलब्ध स्रोत र साधनको अधिकतम प्रयोग गरेर कसरी उत्कृष्ट नतिजा निकाल्ने भन्ने कुरामा जोड दिनुपर्छ। सुधार त आफूबाटै सुरु गर्नुपर्छ।
१३– यहाँले सुधारको कुरा गर्नुभयो, विशेष गरी प्रविधि र कार्यशैलीमा कस्तो परिवर्तनको आवश्यकता देख्नुहुन्छ ?
परिवर्तन संसारको नियम हो। हामीले प्रविधिलाई आत्मसाथ गर्नैपर्छ। सरकारी कामकाजमा डिजिटल प्रणालीको प्रयोग बढाउनुपर्छ, जसले पारदर्शिता बढाउँछ र छिटो–छरितो सेवा प्रवाह सुनिश्चित गर्छ। अर्को महत्त्वपूर्ण पाटो भनेको कार्यसम्पादनमा आधारित मूल्यांकन प्रणालीु हो। जो इमानदार र कर्मठ छन्, उनीहरूले पक्कै पनि उत्प्रेरणा पाउनुपर्छ र जसले काममा ढिलासुस्ती गर्छन्, उनीहरूलाई जवाफदेही बनाउनुपर्छ। हामीले हाम्रो कार्यविधि, अनुशासन र समयबद्धतालाई अझ कडा बनाउनु आवश्यक छ।
१४– अन्तमा, निजामती सेवामा प्रवेश गर्न चाहने वा कार्यरत युवा कर्मचारीहरूलाई यहाँको सुझाव के छ ?
युवाहरूमा म यति भन्न चाहन्छु कि, यो क्षेत्रमा प्रवेश गर्नु भनेको एउटा लामो यात्राको सुरुवात हो। सफलता त हरेक पेसा र स्थानमा हुन्छ, तर त्यसलाई कसरी प्रयोग गर्ने भन्ने कुरा महत्त्वपूर्ण छ। धैर्यता र दृढ संकल्प यसको मुख्य आधार हुन्। कहिलेकाहीँ प्रतिस्पर्धामा पछाडि पर्दा त्यो गर्दा पनि भएन भन्ने हीनताबोध आउन सक्छ, तर त्यसलाई सुधार्न निरन्तरता आवश्यक छ। हामीले भविष्यलाई लिएर आशावादी हुनुपर्छ। सुधारको सम्भावना जहिले पनि रहन्छ यदि हामीले सामूहिक प्रयत्न गर्यौँ भने निजामती प्रशासनलाई अझ जनताको नजिक र प्रभावकारी बनाउन सकिन्छ।