आज पनि प्रतिनिधि सभाको बैठक बस्दै, तीन संवैधानिक आयोगको प्रतिवेदन पेस गरिने - Chaitanya News
  • 2026-07-15
  • 11:14:17
  • बुधबार,आषाढ ३१, २०८३
  • आज पनि प्रतिनिधि सभाको बैठक बस्दै, तीन संवैधानिक आयोगको प्रतिवेदन पेस गरिने

    आज पनि प्रतिनिधि सभाको बैठक बस्दै, तीन संवैधानिक आयोगको प्रतिवेदन पेस गरिने

    काठमाडौँ– आज (बुधबार) पनि प्रतिनिधि सभाको बैठक बस्दैछ। बैठक बिहान ११ बजे बस्नेछ। बैठकमा तीन संवैधानिक आयोगका वार्षिक प्रतिवेदन पेस गरिने संसद सचिवालयले जनाएको छ।

    सभामा अर्थसम्बन्धी विधेयक र अन्तर्राष्ट्रिय श्रम संगठन ९आईएलओ०का दुई महासन्धी अनुमोदनसम्बन्धी प्रस्तावमाथि छलफल हुने कार्यसूची तय गरिएको छ।

    संसद् सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेयका अनुसार प्रधानमन्त्री वालेन्द्र शाहको तर्फबाट कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोबिता गौतमले राष्ट्रिय मानवअधिकार आयोगको अठारौँ वार्षिक प्रतिवेदन पेस गर्ने कार्यसूची रहेको छ।

    यस्तै, मन्त्री गौतमले राष्ट्रिय सूचना आयोगको आर्थिक वर्ष २०८१–०८२ को वार्षिक प्रतिवेदन तथा राष्ट्रिय समावेशी आयोगको सातौँ वार्षिक प्रतिवेदन आर्थिक वर्ष २०८१–०८२सदनमा पेस गर्ने कार्यसूची रहेको छ।

    त्यसैगरी, अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले ‘अर्थसम्बन्धी केही नेपाल कानुनलाई संशोधन र खारेज गर्ने विधेयक, २०८३’ माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन्।

    यस्तै, युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवले अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ) को बाध्यकारी श्रम महासन्धी, १९३० सम्बन्धी सन् २०१४ को प्रोटोकल नं २९ र श्रम निरीक्षण सम्बन्धी महासन्धी, १९४७ (नं ८१)माथि सामान्य छलफल गरियोस् तथा ती महासन्धी अनुमोदन गरियोस् भन्ने प्रस्ताव सदनमा प्रस्तुत गर्ने कार्यसूची रहेको छ।