काठमाडौँ– मनसुन सुरु भएसँगै बढ्न सक्ने बाढी, पहिरो र डुबान जस्ता विपद्जन्य जोखिम न्यूनीकरणका लागि आवश्यक तयारी गर्न सभामुख डोलप्रसाद अर्यालले सरकारको ध्यानाकर्षण गराएका छन्।
आज (मंगलवार) बसेको प्रतिनिधि सभा बैठकमा बोल्दै सभामुख अर्यालले सम्भावित प्राकृतिक प्रकोपबाट हुनसक्ने मानवीय तथा भौतिक क्षति कम गर्न प्रभावकारी पूर्वतयारी, राहत र उद्धार कार्यमा जुट्न सरकारलाई निर्देशन दिएका हुन्।
उनले यस वर्षको मनसुन सुरु भइसकेको र बाढी, पहिरो तथा डुबान जस्ता विपद्जन्य घटनाहरू बढ्न थालेकोप्रति सरकारको ध्यानाकर्षण गराए। यस्ता घटनाका कारण हुनसक्ने मानवीय एवं भौतिक क्षति न्यूनीकरणका लागि प्रभावकारी विपद् पूर्वतयारी, राहत तथा उद्धार एवं सहज र सुरक्षित सवारी आवागमनको व्यवस्था मिलाउन निर्देशन दिए।
संसद्का बैठकमा सांसदहरूले विपदबारे प्रश्न उठाउँदै सरकारलाई जिम्मेवार बन्न आग्रह गर्दै आएका छन्। सभामुख अर्यालले भने, ‘यस वर्षको मनसुन सुरु भई बाढी, पहिरो तथा डुबान जस्ता विपद्जन्य घटनाहरू बढ्न थालेका छन्। यस्ता घटनाका कारण हुनसक्ने मानवीय एवं भौतिक क्षति न्यूनीकरणका लागि प्रभावकारी विपद् पूर्वतयारी, राहत तथा उद्धार एवं सहज र सुरक्षित सवारी आवागमनको व्यवस्था मिलाउन म नेपाल सरकारको ध्यानाकर्षण गराउँछु।’
उनले विपद्को समयमा नागरिकको जिउधनको सुरक्षा गर्दै यातायात सेवालाई निर्बाध र सुरक्षित बनाउन समेत सरकारलाई सचेत गराएका छन्।