विराटनगर– कोशी प्रदेश सरकारले आर्थिक वर्ष २०८२– ८३ मा जम्मा २६ अर्ब २५ करोड बजेट खर्च गरेको छ। प्रदेश लेखा नियन्त्रक कार्यालय, विराटनगरले सार्वजनिक गरेको प्रारम्भिक विवरण अनुसार प्रदेश सरकारले २६ अर्ब २५ करोड २५ लाख ४८ हजार २२१ रुपैयाँ खर्च गरेको हो।
चालु आर्थिक वर्षका लागि प्रदेश सरकारले ३६ अर्ब ९ करोड ८५ लाख रुपैयाँको बजेट विनियोजन गरेको थियो। स्रोत व्यवस्थापन र खर्चको अवस्थालाई हेर्दै मध्यावधि समीक्षा बजेटलाई घटाएर ३२ अर्ब ४५ करोडमा झारिएको थियो।
सरकारले चालु तर्फ १३ अर्ब ८२ करोड १२ लाख रुपैयाँ खर्च गरेको थियो। पुँजीगत तर्फ १२ अर्ब ३८ करोड ५८ लाख रुपैयाँ खर्च गरेको थियो। पुँजीगत खर्च तर्फ ७२।२४ प्रतिशत बजेट खर्च भएको छ। पुँजीगत तर्फ १७ अर्ब १४ करोड ६५ लाख बजेट विनियोजन भएको थियो।
मन्त्रालयगत तर्फ १० अर्ब ६४ करोड ४३ लाख बजेट भएको भौतिक पूर्वाधार विकास मन्त्रालयले ७ अर्ब ४५ करोड ३३ लाख खर्च गरेको छ।
खानेपानी, सिँचाइ तथा ऊर्जा मन्त्रालयले ४ अर्ब ९ करोड ८७ लाख खर्च गरेको छ। स्वास्थ्य मन्त्रालयले २ अर्ब ५० करोड,आर्थिक मामिला तथा योजना मन्त्रालयले १ अर्ब ८९ करोड , उद्योग, कृषि तथा सहकारी मन्त्रालयले १ अर्ब १९ करोड ७९ लाख, पर्यटन, वन तथा वातावरण मन्त्रालयले २ अर्ब १२ करोड ४३ लाख, सामाजिक विकास मन्त्रालयले ८९ करोड ९६ लाख, आन्तरिक मामिला तथा कानून मन्त्रालयले ६४ करोड ६७ लाख लाख बजेट खर्च गरेको छ।