काठमाडौं– राष्ट्रिय योजना आयोगले राष्ट्रिय गौरवका आयोजनाका संख्या घटाउन सुझाव दिएको छ। आयोगले हालका २७ गौरवका आयोजनालाई १० वटामा सीमित गर्न सुझाव दिएको हो।
अर्थ समितिको आजको बैठकमा राष्ट्रिय योजना आयोगका सदस्य सचिव रविलाल पन्थले सो सुझाव दिएका हुन्।
पर्याप्त तयारीविना गौरवका आयोजना घोषणा गरिँदा धेरै आयोजना वर्षौंदेखि सम्पन्न हुन नसकेको बताउँदै उनले भने, ‘पूर्वतयारीविना राष्ट्रिय गौरवका आयोजना घोषणा गरियो। यसले गर्दा सुरु गर्नै समय लाग्यो, राष्ट्रिय गौरवका आयोजना धेरै भए ।’ उनले गौरव गर्न लायक सीमित आयोजना हुनुपर्ने धारणा राखे।
निर्माणाधीन बबई सिंचाइ आयोजनाको उदाहरण दिँदै उनले अध्ययन नगरी कार्यक्षेत्र थप्ने काम पनि रोकिनुपर्ने धारणा राखे। ‘अध्ययन गरेर मात्रै कार्यक्षेत्र थप्नुपर्छ,’ उनले भने।
राष्ट्रिय योजना आयोगको तर्फबाट सुझावसहितको प्रस्तुतीकरणको क्रममा पन्थले नदीजन्य पदार्थ अभाव हुन नदिन निर्माणजन्य कानुन अति आवश्यक रहेको बताए। यस सम्बन्धी कानुन विधेयक अघिल्लो प्रतिनिधि सभामा अलपत्र परेको भन्दै उनले अहिले त्यसलाई प्राथमिकता दिनुपर्ने बताए।
साथै सार्वजनिक खरिद, वन र वातावरण सम्बन्धी कानुनमा पनि समानजस्यताको आवश्यकता औंल्याए।
उनले आयोजना अन्तर्गतका कतिपय सडक अनावश्यक घुमाउरो रहेको भन्दै उनले घुम्ती घटाउन पुनरेखांकन गर्नुपर्ने सुझाव समेत दिए।