काठमाडौँ– मानसिक स्वास्थ्यलाई आधारभूत स्वास्थ्य सेवाकै अभिन्न हिस्सा बनाउने उद्देश्यसहित स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले संघ, प्रदेश र स्थानीय तहका सबै स्वास्थ्य संरचना परिचालन गर्दै देशव्यापी अभियान सञ्चालन गर्ने तयारी गरेको छ।
मन्त्री निशा मेहताको निर्देशनअनुसार मानसिक स्वास्थ्य सेवाको पहुँच विस्तार, समयमै परामर्श र उपचार उपलब्ध गराउने तथा समुदायस्तरमा जनचेतना अभिवृद्धि गर्ने लक्ष्यका साथ मन्त्रालयले समन्वित कार्यक्रम अघि बढाएको हो।
यस सम्बन्धमा मन्त्रालयका सचिव डा. विकास देवकोटाको अध्यक्षतामा बसेको भर्चुअल बैठकमा मन्त्रालयअन्तर्गतका महाशाखा तथा केन्द्रका प्रमुख, सातै प्रदेशका स्वास्थ्य सचिव, स्वास्थ्य निर्देशनालयका निर्देशक तथा विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) का प्रतिनिधिहरू सहभागी भएका थिए।
बैठकले विद्यमान स्वास्थ्य प्रणालीमार्फत मानसिक स्वास्थ्यसम्बन्धी सूचना, परामर्श र उपचार सेवा समुदायसम्म विस्तार गर्ने निर्णय गरेको छ। विद्यालयमा मानसिक स्वास्थ्य शिक्षा प्रवर्द्धन गर्ने, समुदायमा सचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने, उपचाररत व्यक्तिलाई आवश्यक सहजीकरण गर्ने तथा वैदेशिक रोजगारीमा रहेका नेपाली र उनीहरूका परिवारलाई परामर्श सेवासँग जोड्ने योजना अघि सारिएको छ।
मन्त्रालयले मानसिक स्वास्थ्य हटलाइन ११६६, हेलो स्वास्थ्य १११५ तथा स्वास्थ्य संस्थाका सम्पर्क माध्यमबारे व्यापक जानकारी प्रवाह गर्ने जनाएको छ। सामाजिक सञ्जाल, डिजिटल सामग्री, पोस्टर, भिडियो सन्देश, मोबाइल रिङ ब्याकटोन, टिकटक रिल र अनलाइन परामर्शजस्ता माध्यममार्फत जनचेतना फैलाइनेछ।
अभियानमा महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका, विद्यालय स्वास्थ्य नर्स, शिक्षक, युवा समूह, सामी परियोजना तथा मानसिक स्वास्थ्य क्षेत्रमा कार्यरत गैरसरकारी संस्थाका जनशक्तिलाई समेत परिचालन गरिनेछ। साथै योग, ध्यान र मनोसामाजिक सेवाजस्ता आयुर्वेदसम्बन्धी अभ्यासलाई पनि अभियानसँग जोडिने मन्त्रालयको योजना छ।
मन्त्रालयका अनुसार अस्पतालमा मानसिक स्वास्थ्य सेवाको पहुँचबारे जानकारी विस्तार, आवश्यक औषधिको उपलब्धता सुनिश्चित तथा आवश्यकताअनुसार साइकोसोसियल हेल्थ डेस्क स्थापना गर्ने तयारी पनि अघि बढाइएको छ। तालिमप्राप्त जनशक्तिको विवरण अद्यावधिक गर्ने, उपचारबाट छुटेका बिरामीलाई पुनः सेवामा ल्याउने र उपचारको पहुँचबाहिर रहेका व्यक्तिको खोजी गर्ने कार्यलाई समेत अभियानको प्राथमिकतामा राखिएको छ।
चालु आर्थिक वर्षभित्र प्रारम्भिक कार्यक्रम सुरु गरी आगामी आर्थिक वर्षदेखि अभियानलाई थप व्यवस्थित र देशव्यापी रूपमा विस्तार गर्ने मन्त्रालयको तयारी रहेको छ।