काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद अनुश्का श्रेष्ठले सरकारले उपलब्ध गराएका सेवा, सुविधा तथा अवसरबारे पर्याप्त जानकारी नपुग्दा धेरै नागरिक त्यसको लाभ लिनबाट वञ्चित भइरहेको बताएकी छन्।
आज (बिहीबार) प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद श्रेष्ठले नेपालमा अवसरको अभावभन्दा पनि ती अवसरबारे आम नागरिकसम्म प्रभावकारी सूचना नपुग्नु मुख्य चुनौतीका रूपमा रहेको धारणा राखिन्।
उनले सरकारले सञ्चालन गरेका नीति, कार्यक्रम र सुविधाबारे नागरिकको पहुँच कत्तिको पुगेको छ भन्ने विषयमा गम्भीर समीक्षा गर्न आवश्यक रहेको उल्लेख गरिन्। नागरिकले सरकारी अवसर र सेवासम्बन्धी जानकारी प्राप्त गरिरहेका छन् वा छैनन् भन्ने मूल्यांक्नका आधारमा आगामी कार्यक्रम र सूचना प्रवाहको रणनीति तय गर्नुपर्ने उनको भनाइ थियो।
सांसद श्रेष्ठले राज्यले सिर्जना गरेका अवसरको अधिकतम उपयोग सुनिश्चित गर्न प्रभावकारी जनसूचना प्रणाली र नागरिकमुखी सञ्चार संयन्त्र विकासतर्फ सरकारको ध्यान जानुपर्ने आवश्यकता पनि औँल्याइन्।