आजको मौसम: देशभर मनसुनी वायुको प्रभाव,यी प्रदेशमा भारी वर्षाको सम्भावना - Chaitanya News
  • 2026-07-08
  • 09:52:40
  • बुधबार,आषाढ २४, २०८३
  • आजको मौसम: देशभर मनसुनी वायुको प्रभाव,यी प्रदेशमा भारी वर्षाको सम्भावना

    आजको मौसम: देशभर मनसुनी वायुको प्रभाव,यी प्रदेशमा भारी वर्षाको सम्भावना

    काठमाडौँ– जल तथा मौसम पूर्वानुमान महाशाखाले दिएको जानकारी अनुसार, हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यूनचापीय रेखा नेपालको पूर्वी भू–भागतर्फ सरदरभन्दा दक्षिणमा र पश्चिमी भू–भागतर्फ सरदर स्थानको आसपास अवस्थित रहेको छ।

    यस्तै, आज देशभर साधरणतया बादल लागेको छ। कोशी, बागमती, लुम्बिनी र कर्णाली प्रदेशका केही स्थान तथा गण्डकी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा मध्यमसम्मको वर्षा भइरहेको महाशाखाले जनाएको छ।

    यसैगरी महाशाखाका अनुसार, आज दिउँसो देशभर साधरणतया बादल लाग्नेछ। देशका हिमाली भू–भागका केही स्थानमा मेघगर्जन–चट्याङसहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना छ। कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी र तराई भू–भागका केही स्थानमा, मधेस प्रदेश साथै कर्णाली प्रदेशका पहाडी भूभागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ। देशको पहाडी भू–भागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ भने मधेस प्रदेश साथै लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भू–भागका केही स्थानमा हुरी बतासको पनि सम्भावना छ।

    त्यसैगरी, आज राति देशभर अधिकांश बादल लाग्नेछ। देशका हिमाली भू–भागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना छ। मधेस प्रदेश तथा कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी र तराई भू(भागका धेरै स्थानमा, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू(भागका साथै लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भू–भागका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ। मधेस प्रदेश साथै कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी र तराई भू–भागका थोरै स्थानमा भारीदेखि धेरै भारी वर्षाको पनि सम्भावना महाशाखाले जनाएको छ।

    कोशी प्रदेशको पहाडी र तराई भू–भागको थोरै स्थान तथा मधेस प्रदेशका साथै बागमती, गण्डकी लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी र तराई भू–भागको एकदुई स्थानमा भारी वर्षाका सम्भावना रहेकाले आवश्यक सावधानी अपनाउन र विभागको पछिल्लो सूचनामा अद्यावधिक रहनुहुन अनुरोध महाशाखाले अनुरोध गरेको छ।