गृह प्रशासनलाई समयानुकूल सुधार गर्दै नागरिक केन्द्रित बनाउने सरकारको लक्ष्य : गृहमन्त्री गुरुङ - Chaitanya News
  • 2026-07-07
  • 17:51:54
  • मंगलबार,आषाढ २३, २०८३
  • गृह प्रशासनलाई समयानुकूल सुधार गर्दै नागरिक केन्द्रित बनाउने सरकारको लक्ष्य : गृहमन्त्री गुरुङ

    गृह प्रशासनलाई समयानुकूल सुधार गर्दै नागरिक केन्द्रित बनाउने सरकारको लक्ष्य : गृहमन्त्री गुरुङ

    काठमाडौँ– गृहमन्त्री सुधन गुरुङले मुलुकमा शान्ति, सुरक्षा र सुशासन कायम गर्दै गृह प्रशासनलाई प्रभावकारी राज्य संयन्त्रका रूपमा विकास गर्ने बताएका छन्।

    आज (मंगलबार) राष्ट्रिय सभाको बैठकमा गृह मन्त्रालयको आगामी आर्थिक वर्षको बजेट तथा कार्यक्रममाथि सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै मन्त्री गुरुङले गृह प्रशासनलाई समयानुकूल सुधार गर्दै नागरिक केन्द्रित बनाउने सरकारको नीति रहेको बताएका हुन्।

    उनले गृह प्रशासनलाई केवल सुरक्षा व्यवस्थापन गर्ने निकायका रूपमा सीमित नराखी मानवअधिकारको सम्मान, कानुनी शासन र नागरिक सेवाको भावनाअनुसार रूपान्तरण गरिने स्पष्ट पारे।

    मन्त्री गुरुङले अबको गृह प्रशासनले नीति र प्रतिबद्धता मात्र होइन, नागरिकले प्रत्यक्ष महसुस गर्ने गरी सुरक्षा व्यवस्था, सेवा प्रवाह र निष्पक्ष कार्यसम्पादनमा सुधार देखाउनुपर्ने बताए।

    यसैबीच, उनले भूकम्पबाट प्रभावित नागरिकको आवास पुनर्निर्माणका लागि ५ अर्ब रुपैयाँ बजेट सुनिश्चित गरिएको जानकारी दिँदै पुनर्निर्माण कार्यलाई प्राथमिकताका साथ अघि बढाइने बताए।

    गृहमन्त्री गुरुङले राज्य संयन्त्रप्रति नागरिकको विश्वास बढाउने गरी पारदर्शी, उत्तरदायी र परिणाममुखी प्रशासन सञ्चालनमा सरकार प्रतिबद्ध रहेको उल्लेख गरेका छन्।