काठमाडौँ– निर्वाचन आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले एकीकृत निर्वाचन कानून चालु अधिवेशनभित्रै पारित हुन नसके आगामी निर्वाचन हुन कठिन रहेको बताएका छन्।
सोमवार निर्वाचन आयोगमा आयोजित बिदाइ कार्यक्रमलाई सम्बोधन गर्दै उनले बजेट अधिवेशनमा एकीकृत निर्वाचन कानून पारित नभए आगामी निर्वाचन हुन कठिन रहेको बताएका हुन्।
बजेट अधिवेशनभित्रै कानून बन्न नसके आगामी दिनमा निर्वाचन झनै पेचिलो बन्ने उनको भनाइ छ। नयाँ निर्वाचन कानून ल्याएर इ(भोटिङ लगायतका मागहरू सम्बोधन गर्न सकिने उनले बताए।
उनले आफू निर्वाचन आयोगमा हुँदा आयोगलाई कानूनी रूपमा स्पष्ट र दर्बिलो बनाउने काम गरेको जिकिर गरे। आफ्नो कार्यकालमा एकीकृत निर्वाचन कानुनको मस्यौदा तयार पारेर सम्बन्धित मन्त्रालयमा पेश गरेको भए पनि पेश गरेको तीन वर्षभन्दा बढी हुँदा समेत संसद्मा पेश हुन नसकेको गुनासो गरे।