विशेष शिक्षकलाई पनि दरबन्दीमा रुपान्तरण गरियो - Chaitanya News
  • 2026-07-06
  • 15:00:46
  • सोमबार,आषाढ २२, २०८३
  • विशेष शिक्षकलाई पनि दरबन्दीमा रुपान्तरण गरियो

    विशेष शिक्षकलाई पनि दरबन्दीमा रुपान्तरण गरियो

    काठमाडौं– विशेष शिक्षकलाई पनि दरबन्दीमा रुपान्तरण गरिएको छ। दृष्टिविहिन, न्यूनदृष्टि, श्रवणविहिन, सुस्तमनस्थिति, बौद्धिक अपाङ्गता, अटिज्म, सुस्त श्रवण वा अति अशक्त शारीरिक अपाङ्गता भएका बालबालिकालाई पढाउने विशेष शिक्षकलाई दरबन्दीमा रुपान्तरण गरिएको हो। सरकारले गत बिहीबार स्वीकृत गरेको शिक्षा नियमावलीको १० औँ संशोधनमा उक्त व्यवस्था राखिएको छ।

    ‘विशेष शिक्षा परिषद्बाट स्वीकृत भएका शिक्षक दरबन्दी विशेष शिक्षक दरबन्दीमा रुपान्तरण हुनेछन्,’ नियमावलीमा भनिएको छ। दरबन्दी राष्ट्रिय किताबखाना (शिक्षक) मा विशेष दरबन्दीको रुपमा दर्ता हुनेछ र शिक्षक सेवा आयोगको सिफारिसमा त्यस्तो दरबन्दीमा पदपूर्ति हुने प्रावधान राखिएको छ। दरबन्दी विशेष विद्यालय वा स्रोतकक्षा सञ्चालन भएको विद्यालयमा वितरण गरिनेछ। पदपूर्ति भएका शिक्षकको नियुक्ति, सेवाको शर्त र सुविधा सम्बन्धी व्यवस्था साधारण विद्यालयको स्थायी शिक्षक सरह हुनेछ।

    विशेष शिक्षा परिषद्बाट स्थायी नियुक्ति पाई अविछिन्न सेवा गरी सेवावाट अलग हुने वा भईसकेका शिक्षकलाई उमेरको हद साठी वर्षमा नबढ्ने गरी एकमुष्ट सुविधा दिइनेछ। पाँच वर्षदेखि दश वर्षसम्म सेवा गरेको शिक्षकले आफूले काम गरेको प्रत्येक वर्षको निमित्त आखिरी आधा महिनाको तलब पाउने छन्।

    दश वर्षभन्दा बढी पन्ध्र वर्षसम्म सेवा गरेको शिक्षकले आफूले काम गरेको प्रत्येक वर्षको निमित्त आखिरी एक महिनाको तलब पाउने छन्। पन्ध्र वर्षभन्दा बढी सेवा गरेको शिक्षकले आफूले काम गरेको प्रत्येक वर्षको निमित्त आखिरी डेढ महिनाको तलब पाउने छन्। सुविधा प्राप्त गर्ने शिक्षकले साधारण शिक्षक सरह सञ्चित बिरामी बिदाको रकम पाउने व्यवस्था नियमावलीमा राखिएको छ।

    बौद्धिक अपाङ्गता, अटिज्म, श्रवणविहीन, दृष्टिविहीन, बहिरा जस्ता अपाङ्गताको प्रकृति र गाम्भिर्यता, भौगोलिक विषमता र दुरीका आधारमा स्रोत केन्द्र वा स्रोत कक्षाको सञ्चालन तथा व्यवस्थापन स्थानीय तहले गर्न सक्नेछ। स्रोत केन्द्र वा स्रोत कक्षालाई स्थानीय तहको सिफारिसको आधारमा नेपाल सरकार वा प्रदेश सरकारले अनुदान उपलब्ध गराउन सक्नेछ।