आईसीसी क्रिकेट विश्वकप लिग–२ खेल्न जाने नेपाली टोलीको बिदाइ - Chaitanya News
  • 2026-07-05
  • 17:11:05
  • आइतबार,आषाढ २१, २०८३
  • आईसीसी क्रिकेट विश्वकप लिग–२ खेल्न जाने नेपाली टोलीको बिदाइ

    आईसीसी क्रिकेट विश्वकप लिग–२ खेल्न जाने नेपाली टोलीको बिदाइ

    काठमाडौं– आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत नेदरल्यान्ड्समा श्रृंखला खेल्न जाने नेपाली क्रिकेट टोलीको बिदाइ भएको छ। यही जुलाई २१ देखि नेपाल, नामिबिया र नेदरल्यान्ड्स सम्मिलित शृङ्खला सुरु हुँदैछ। त्यसअघि नेपालले जर्सी गएर अभ्यास पनि गर्नेछ।

    नेपाल क्रिकेट संघ (क्यान) ले आइतबार एक कार्यक्रम गरी नेपाली टोलीको बिदाइ गरेको हो। बिदाइ कार्यक्रममा बोल्दै क्यानका सचिव पारस खड्काले गतवर्ष स्कटल्यान्डमा गरेको जस्तै प्रदर्शन दोहोर्‍याउने र हालको लयलाई निरन्तरता दिने विश्वास व्यक्त गरे।

    ‘प्रतिस्पर्धा बढ्दो क्रममा छ, हामी फेरि पनि युरोप टुरमा राम्रो प्रदर्शन गर्न सक्छौं जस्तो लाग्छ, टिमलाई धेरै शुभकामना छ’ खड्काले भने। ‘हाम्रो आगामी केही महिना निकै व्यस्त छ, लिग २ को शृङ्खला पनि छ, एनपीएल पनि आयोजना गर्नु छ’ खड्काले थपे।

    यस्तै नेपाली क्रिकेट टिमका कप्तान रोहित पौडेलले तयारी राम्रो भएको बताएका छन् । ‘हामी पछिल्लो एक साता फिटनेसमा केन्द्रित छौं, हामी यो टुरमा धेरै महत्व दिएका छौं, विश्वकप खेल्नका लागि बाँकी शृंखला महत्वपूर्ण छन् र हामी राम्रो प्रदर्शन गर्नेछौं’ रोहितले भने।

    क्यानका अध्यक्ष चतुरबहादुर चन्दले पनि टोलीलाई शुभकामना दिए। ‘तपाईंहरूले धेरै दबाब नलिइकन खेल्नुहुन्छ भन्ने मलाई भरोसा छ, हामी दुई घरेलु शृङ्खलाले गर्दा उत्साहित पनि छौं, राम्रो गर्नुहोला’ चन्दले भने।

    नेपाली क्रिकेट टोलीले लिग २ को शृङ्खला अघि जर्सीमा गएर अभ्यास एकदिवसीय खेल पनि खेल्नेछ।

    जर्सीमा नेपालले तयारी क्याम्पसँगै दुई अभ्यास एकदिवसीय खेल्ने नेपाल क्रिकेट संघ (क्यान) ले जनाएको छ। पहिलो अभ्यास खेल जुलाई १३ अनि दोस्रो खेल जुलाई १५ मा हुने क्यानले जनाएको छ।

    लिग २ को खेलअघि कन्डिशन मिल्दोजुल्दो हुनेगरी जर्सीमा खेल्न लागिएको हो। नेपालले केही साताअघि मात्र दुई घरेलु शृङ्खला खेलेको थियो। ८ खेलमध्ये नेपालले ६ खेलमा जित हासिल गरेर लिग २ अंकतालिकामा स्थान सुधार समेत गरेको थियो।

    यस शृंखलाका लागि नेपाली टोलीको म्यानेजरमा क्यानकै सदस्य श्रीधर केसी चयन भएका छन्। नेपाली टोलीका प्रशिक्षक स्टुअर्ट‌ लको पासपोर्ट नवीकरणसम्बन्धी समस्याले उनी भने केही समयपछि टोलीसँग जोडिने बताइएको छ।