सभामुख र साउदी राजदूतबीच भेटर्वार्ता, संसदीय सहकार्य विस्तारमा जोड - Chaitanya News
  • 2026-07-01
  • 18:34:44
  • बुधबार,आषाढ १७, २०८३
  • सभामुख र साउदी राजदूतबीच भेटर्वार्ता, संसदीय सहकार्य विस्तारमा जोड

    सभामुख र साउदी राजदूतबीच भेटर्वार्ता, संसदीय सहकार्य विस्तारमा जोड

    काठमाडौँ– सभामुख डोलप्रसाद अर्यालसँग नेपालका लागि साउदी अरबका राजदूत फाहद मोहम्मद ए. मनिखले उनको कार्यकक्षमा शिष्टाचार भेट गरेका छन्।

    भेटका क्रममा सभामुख अर्यालले नेपालको संघीय संसद् र शुरा काउन्सिलबीच संसदीय सहकार्यलाई थप सुदृढ बनाउन नेपाल इच्छुक रहेको बताए।

    उनले संघीय संसद्को हालैको निर्णयअनुसार नेपाल–साउदी अरब संसदीय मैत्री समूह गठन भइसकेको जानकारी दिँदै यसले दुवै मुलुकका संसदबीच साझा हितका विषयमा सहकार्य विस्तार गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरेको सभामुखको निजी सचिवालयले जनाएको छ।

    सभामुख अर्यालले नेपाल र साउदी अरबबीच विशेष गरी श्रम आप्रवासका क्षेत्रमा विकसित सहकार्यको प्रशंसा गर्दै नेपाली श्रमिकलाई प्राथमिकता दिएकोमा साउदी पक्षप्रति आभार व्यक्त गरेका थिए।

    राजदूत मनिखले नेपाल(साउदी सम्बन्धलाई अझ प्रगाढ बनाउन आफू प्रतिबद्ध रहेको उल्लेख गर्दै श्रम, व्यापार, लगानी, पर्यटन तथा जनस्तरको सम्पर्क विस्तारका क्षेत्रमा सहकार्यलाई थप अघि बढाइने बताए।

    आगामी वर्ष नेपाल र साउदी अरबबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ५० वर्ष पूरा हुने सन्दर्भमा द्विपक्षीय सम्बन्धलाई थप उचाइमा पुर्‍याउने अवसर रहेको पनि छलफलका क्रममा उल्लेख गरिएको छ।

    युवा, श्रम तथा रोजगार मन्त्रालयका अनुसार हाल साउदी अरबमा तीन लाख ८४ हजार ८६५ नेपाली रोजगारीमा रहेका छन्।