काठमाडौँ– जल तथा मौसम पूर्वानुमान महाशाखाले दिएको अनुसार आज देशका सबैजसो ठाउँमा पानी परेको छ। पश्चिमका केही जिल्लामा बाढीको जोखिम रहको छ। पछिल्लो विवरणअनुसार सबैभन्दा धेरै कास्की लमजुङ, दाङ र सिन्धुपाल्चोकमा पानी परेको छ।
महाशाखाका अनुसार पछिल्लो ६ घण्टामा कास्की र लमजुङमा सबैभन्दा धेरै ६७ मिलिमिटर वर्षा मापन भएको छ। त्यस्तै दाङ र सिन्धुपाल्चोकमा ४० मिलिमिटर भन्दा बढी वर्षा भएको छ। बाँके, बर्दिया र कैलाली भएर बहने साना नदीमा बाढी बढिरहेकोले नदी आसपास र डुबान भइरहने ठाउँका बासिन्दालाई आज दिनभर सतर्क रहन बाढी पूर्वानुमान महाशाखाले आग्रह समेत गरेको छ।
आज कोशी, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका पहाडी र तराई भागका एक–दुई ठाउँमा ठूलो वर्षादेखि अति धेरै वर्षाको सम्भावना रहेको छ। मधेश प्रदेश तथा बागमती प्रदेशको पहाडी भागका एक–दुई ठाउँमा पनि ठूलो वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आज र भोलि देशका केही ठाउँमा ठूलो वर्षा तथा एकरदुई ठाउँमा ठूलो वर्षाको सम्भावना रहेकाले आवश्यक पूर्व तयारी र सतर्कता अपनाउन आग्रह गरेको छ।