काठमाडौँ– राष्ट्रपति रामचन्द्र पौडेलले नेपाली समाजको जीवनदर्शन सेवा, करुणा, प्रेम, मानवता तथा शान्तिप्रतिको प्रतिबद्धताबाट निर्देशित रहेको बताएका छन्।
आज (मंगलबार) राष्ट्रपति भवन शीतल निवासमा रोटरी क्लब अफ भादगाउँद्वारा आयोजित सम्मान कार्यक्रममा सम्बोधन गर्दै उनले सहकार्य, सद्भाव र सहिष्णुताको संस्कृतिले समाजलाई सकारात्मक दिशामा अघि बढाउन प्रेरणा दिने धारणा व्यक्त गरे।
राष्ट्रपति पौडेलले यी मूल्य र मान्यतालाई व्यवहार तथा आचरणमार्फत कार्यान्वयन गर्दै विश्वशान्ति, मानव कल्याण र समग्र प्रगतिका लागि योगदान पुर्याउनु सबैको साझा दायित्व भएको उल्लेख गरे।
उनले निस्वार्थ भावनाका साथ मानव सेवामा समर्पित हुनु नै सबैभन्दा ठुलो धर्म भएको आफ्नो विश्वास व्यक्त गर्दै विश्वशान्ति, अन्तर्राष्ट्रिय सहकार्य र मानव हितका क्षेत्रमा रोटरीले निर्वाह गर्दै आएको भूमिकाको प्रशंसा गरे। बदलिँदो विश्व परिवेशमा यस्ता संस्थाको योगदान झन् सान्दर्भिक बन्दै गएको उनको भनाइ थियो।
राष्ट्रपति पौडेलले समाजसेवा, मानवता र शान्ति प्रवर्द्धनका क्षेत्रमा रोटरीको सक्रिय सहभागिताको सराहना गर्दै सेवा, मित्रता, सद्भाव र विश्वमानवताका मूल्यमा आधारित यस संस्थाले समाज रूपान्तरणका विविध अभियानमा महत्वपूर्ण भूमिका निर्वाह गरिरहेको बताए।