काठमाडौं– सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. विक्रम तिमिल्सिनाले परम्परागत हुलाक सेवालाई आधुनिक, विश्वसनीय र नागरिकमैत्री बनाउँदै सरकारी सेवा नागरिकको घरदैलोमै पुर्याउने प्रभावकारी माध्यमका रूपमा पुनःस्थापित गरिएको बताएका छन्।
हुलाक सेवा विभागद्वारा सोमबार काठमाडौंमा आयोजित ‘हुलाक सेवाको आधुनिकीकरणसम्बन्धी उच्चस्तरीय संवाद कार्यक्रम’ लाई सम्बोधन गर्दै मन्त्री तिमिल्सिनाले परम्परागत हुलाकलाई प्रविधिमैत्री ‘सरकारी कुरियर सेवा’ का रूपमा विकास गर्ने अभियान सफलतापूर्वक अघि बढिरहेको बताए।
उनले सूचना प्रविधिको विस्तारसँगै हुलाक सेवाको स्वरूप परिवर्तन भए पनि यसको आवश्यकता र महत्त्व अझै कायम रहेको उल्लेख गर्दै समयअनुकूल आधुनिकीकरण र सेवा विस्तार अपरिहार्य भएको बताए।
मन्त्री तिमिल्सिनाले सरकारी सेवा प्रवाहलाई प्रभावकारी बनाउन सार्वजनिक र निजी क्षेत्रबीच सहकार्य आवश्यक रहेको धारणा राखे। सबै काम सरकारले एक्लै गर्न नसक्ने भएकाले निजी क्षेत्रसँग साझेदारी र सरकारी निकायबीच प्रभावकारी समन्वय अपरिहार्य रहेको उनको भनाइ थियो।
हुलाक सेवाको संस्थागत छवि सुदृढ बनाउन कर्मचारीको इच्छाशक्ति, नवीन सोच र सेवामुखी कार्यशैली आवश्यक रहेको उल्लेख गर्दै उनले हुलाकले समयअनुसार आफूलाई परिवर्तन गर्दै विशिष्टीकृत सेवा दिनुपर्ने बताए।
राहदानी, सवारी चालक अनुमतिपत्रलगायतका सरकारी कागजात नागरिकको घरमै पुर्याउने व्यवस्थाले सेवा प्रवाहमा उल्लेखनीय सुधार आएको उल्लेख गर्दै उनले यसबाट नागरिकको समय, लागत र झन्झट घट्नुका साथै सरकारी सेवाप्रतिको विश्वाससमेत बढेको बताए। सरकारी हुलाक सेवा सुरक्षाका दृष्टिले पनि विश्वसनीय रहेको उनको भनाइ थियो।
सीमित स्रोत–साधनको अधिकतम उपयोग गर्दै सार्वजनिक सेवा प्रवाहलाई प्रभावकारी बनाउने दिशामा सरकार अघि बढिरहेको उल्लेख गर्दै मन्त्री तिमिल्सिनाले शासकीय सुधारसम्बन्धी १०० दिने कार्यसूचीअन्तर्गत सञ्चार मन्त्रालय र मातहतका निकायले उल्लेखनीय प्रगति हासिल गरेको जानकारी दिए।
कार्यक्रममा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयकी सचिव लक्ष्मीकुमारी बस्नेतले डिजिटल युगमा पनि हुलाक सेवाको आवश्यकता उत्तिकै रहेको बताइन्। उनले नागरिकको घरदैलोमै सरकारी सेवा पुर्याउने उद्देश्यअनुसार विभागले हालसम्म सातवटा सरकारी निकायसँग समझदारी गरिसकेको जानकारी दिइन्।
उनका अनुसार राहदानी, सवारी चालक अनुमतिपत्र, शैक्षिक प्रमाणपत्र, स्वास्थ्य परीक्षण प्रतिवेदनलगायतका सरकारी कागजात अहिले घरघरमै पुर्याउन थालिएको छ। आगामी दिनमा यस सेवालाई थप प्रभावकारी, व्यावसायिक र नागरिकमैत्री बनाइने उनले बताइन्।
हुलाक सेवा विभागकी महानिर्देशक मनमाया भट्टराई पङ्गेनीले अन्तर्राष्ट्रिय असल अभ्यासलाई आत्मसात् गर्दै हुलाक सेवालाई थप प्रभावकारी बनाउने अभियान सञ्चालन गरिएको जानकारी दिइन्। ‘घरघरमा हुलाक, मनमनमा हुलाक’ अभियानमार्फत नागरिक केन्द्रित सेवा प्रवाहलाई प्राथमिकता दिइएको र सरकारी कागजात घरमै प्राप्त गर्न थालेपछि नागरिकबाट सकारात्मक प्रतिक्रिया आएको उनले बताइन्।
उनका अनुसार विभागले सञ्चालन गरिरहेको ‘सरकारी कुरियर सेवा’ मार्फत राहदानी, सवारी चालक अनुमतिपत्र, स्वास्थ्य सामग्री, शैक्षिक प्रमाणपत्र तथा अन्य सरकारी कागजात सुरक्षित रूपमा नागरिकको घरसम्म पुर्याउने व्यवस्था विस्तार हुँदै गएको छ।
नयाँ सरकारको शासकीय सुधारसम्बन्धी १०० दिने कार्यसूचीको बुँदा नम्बर २७ मा राहदानी, नागरिकताको प्रतिलिपि, सवारी चालक अनुमतिपत्रलगायतका सरकारी कागजात घरमै पुर्याउने व्यवस्था गर्ने उल्लेख छ। साथै आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटमा देशभरका हुलाक कार्यालयलाई क्रमशः ‘स्मार्ट हुलाक’ मा रूपान्तरण गर्ने योजना पनि अघि बढाइएको छ।
विभागका अनुसार परम्परागत चिठीपत्र आदानप्रदानमा सीमित हुलाक सेवालाई आधुनिक ‘गभर्मेन्ट कुरियर सर्भिस’ मा रूपान्तरण गर्दै राहदानी, सवारी चालक अनुमतिपत्र, शैक्षिक प्रमाणपत्र, स्वास्थ्य सामग्री तथा अन्य सरकारी कागजात घरदैलोमै उपलब्ध गराउने सेवाको दायरा क्रमशः विस्तार भइरहेको छ।