आज यी जिल्लाका नदीमा आकस्मिक बाढीको जोखिम, सतर्क रहन महाशाखाको आग्रह - Chaitanya News
  • 2026-06-29
  • 11:59:44
  • सोमबार,आषाढ १५, २०८३
  • आज यी जिल्लाका नदीमा आकस्मिक बाढीको जोखिम, सतर्क रहन महाशाखाको आग्रह

    आज यी जिल्लाका नदीमा आकस्मिक बाढीको जोखिम, सतर्क रहन महाशाखाको आग्रह

    काठमाडौँ– देशभरका साना तथा सहायक नदीहरूमा बहाव बढेर आकस्मिक बाढी आउन सक्ने सम्भावना देखिएको छ।

    बाढी पूर्वानुमान महाशाखाले जारी गरेको बुलेटिन अनुसार आज देशका ३४ भन्दा बढी जिल्ला भएर बहने स–साना नदीहरूमा पानीको बहाव उल्लेख्य बढ्ने र आकस्मिक बाढीको मध्यम जोखिम रहने सम्भावना छ।

    महाशाखाका अनुसार आज झापा, इलाम, पाँचथर, ताप्लेजुङ, सङ्खुवासभा, दोलखा, सिन्धुपाल्चोक, काठमाडौँ, भक्तपुर, ललितपुर, गोरखा, लमजुङ र चितवनका साना नदीहरूमा बहाव बढ्नेछ। यसैगरी कास्की, पाल्पा, स्याङ्जा, नवलपरासी, रुपन्देही, कपिलवस्तु, दाङ, बाँके, बर्दिया, कैलाली, सुर्खेत, दैलेख, कालिकोट, जाजरकोट, रुकुम पश्चिम, बैतडी, दार्चुला, दिपायल, डडेल्धुरा, अछाम र यस आसपासका जिल्ला भई बहने खोला तथा नदीहरूमा पनि बाढीको जोखिम रहेको छ।

    यस्तै, बाढीको यो जोखिम भोलि र पर्सि पनि कायम रहने देखिएको छ। भोलि र पर्सि कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेश भई बहने धेरैजसो स–साना नदीहरूमा बहाव आकस्मिक रूपमा बढ्न सक्ने महाशाखाले जनाएको छ। सोही अवधिमा कर्णाली र सुदूरपश्चिम प्रदेश भएर बहने केही स–साना नदीहरूमा पनि बहाव आकस्मिक रूपमा बढ्न सक्ने अनुमान गरिएको छ।

    साना नदीहरूमा बाढीको जोखिम रहे पनि देशका प्रमुख र ठुला नदीहरूको अवस्था भने हाल सामान्य रहेको छ। महाशाखाले आज बिहान गरेको मापन अनुसार कोशी, नारायणी, बागमती, कर्णाली, महाकाली र यिनका सहायक नदीहरूको बहाव सतर्कता तहभन्दा तलै छ। यसका साथै कन्काई, कमला, बबई, पूर्वी राप्ती र पश्चिम राप्ती नदीको बहाव पनि अहिले सुरक्षित अवस्थामै रहेको जानकारी महाशाखाले दिएको छ।