काठमाडौं– अमेरिका, मेक्सिको र क्यानडामा जारी फिफा विश्वकप २०२६ अन्तर्गत आजदेखि नकआउट चरणका खेल सुरु हुँदैछन्। समूह चरणका ७२ खेल सम्पन्न भएसँगै अन्तिम ३२ टोलीको टुंगो लागेको छ। अब प्रत्येक खेलको विजेता अर्को चरणमा पुग्नेछ भने पराजित टोली प्रतियोगिताबाट बाहिरिनेछ।
यस संस्करणमा पहिलो पटक ४८ टोलीले विश्वकपमा प्रतिस्पर्धा गरेका थिए। तीमध्ये ३२ टोली नकआउट चरणमा पुगेका छन् भने १६ टोलीको यात्रा समूह चरणमै समाप्त भएको छ।
यस विश्वकपमा पहिलो पटक थपिएको राउण्ड अफ ३२ बाट नकआउट चरणको सुरुआत हुनेछ। पहिलो खेलमा सहआयोजक क्यानडा र दक्षिण अफ्रिका आमनेसामने हुनेछन्।
दुवै टोलीले आफ्नो विश्वकप इतिहासमै पहिलो पटक नकआउट चरणमा स्थान बनाएका हुन्। क्यानडा समूह ‘बी’ को उपविजेता तथा दक्षिण अफ्रिका समूह ‘ए’ को उपविजेताका रूपमा अघि बढेका हुन्।
विश्वकपमा यी दुई टोलीबीच यो पहिलो भेट हुनेछ। समग्रमा भने उनीहरू दोस्रो पटक प्रतिस्पर्धा गर्न लागेका हुन्। यसअघि सन् २००७ मा डर्बानमा भएको मैत्रीपूर्ण खेलमा दक्षिण अफ्रिकाले क्यानडालाई २–० ले पराजित गरेको थियो।
यो खेल नेपाली समयअनुसार सोमबार बिहान १२ः४५ बजे सुरु हुनेछ। विजेता टोलीले नेदरल्यान्ड्स र मोरक्कोबीच हुने खेलको विजेतासँग अन्तिम १६ (प्रिक्वार्टरफाइनल) मा प्रतिस्पर्धा गर्नेछ।
नकआउट चरणमा हार्ने टोलीको यात्रा त्यहीँ समाप्त हुने भएकाले प्रत्येक खेललाई फाइनलसरह मानिएको छ।
राउण्ड अफ ३२ को खेल तालिका:
असार १५ (जुन २९)
दक्षिण अफ्रिका बनाम क्यानडा – बिहान १२ः४५ बजे
ब्राजिल बनाम जापान – राति १०ः४५ बजे
असार १६ (जुन ३०)
जर्मनी बनाम पाराग्वे – बिहान २ः१५ बजे
नेदरल्यान्ड्स बनाम मोरक्को – बिहान ६ः४५ बजे
आइभरी कोस्ट बनाम नर्वे – राति १०ः४५ बजे
असार १७ (जुलाई १)
फ्रान्स बनाम स्वीडेन – बिहान २ः४५ बजे
मेक्सिको बनाम इक्वेडर – बिहान ६ः४५ बजे
इंग्ल्यान्ड बनाम डीआर कंगो – राति ९ः४५ बजे
असार १८ (जुलाई २)
बेल्जियम बनाम सेनेगल – बिहान १ः४५ बजे
अमेरिका बनाम बोस्निया र हर्जेगोभिना – बिहान ५ः४५ बजे
असार १९ (जुलाई ३)
स्पेन बनाम अस्ट्रिया – बिहान १२ः४५ बजे
पोर्चुगल बनाम क्रोएसिया – बिहान ४ः४५ बजे
स्विट्जरल्यान्ड बनाम अल्जेरिया – बिहान ८ः४५ बजे
अस्ट्रेलिया बनाम इजिप्ट – राति ११ः४५ बजे
असार २० (जुलाई ४)
अर्जेन्टिना बनाम केप भर्डे – बिहान ३ः४५ बजे
कोलम्बिया बनाम घाना – बिहान ७ः१५ बजे।