आजको मौसम: कोशीमा भारी वर्षाको सम्भावना, चार दिनभित्र देशभर मनसुन फैलिने - Chaitanya News
  • 2026-06-28
  • 10:43:06
  • आइतबार,आषाढ १४, २०८३
  • आजको मौसम: कोशीमा भारी वर्षाको सम्भावना, चार दिनभित्र देशभर मनसुन फैलिने

    आजको मौसम: कोशीमा भारी वर्षाको सम्भावना, चार दिनभित्र देशभर मनसुन फैलिने

    काठमाडौँ– जल तथा मौसम पूर्वानुमान महाशाखाले दिएको जानकारी अनुसार हाल कोशी, मधेशस र बागमती प्रदेशका सम्पूर्ण क्षेत्र, गण्डकी प्रदेशका केही तथा लुम्बिनी प्रदेशको पूर्वी क्षेत्रसम्म मनसुन वायुको प्रभाव रहेको छ। अन्य क्षेत्रमा पश्चिमी तथा स्थानीय वायुको आंशिक प्रभाव रहेको छ।

    यस्तै, आज गण्डकी र लुम्बिनी प्रदेशका बाँकी क्षेत्र तथा कर्णाली र सुदूरपश्चिम प्रदेशभर आगामी तीनदेखि चार दिनभित्र मनसुन विस्तार हुने सम्भावना छ। अहिले सुदूरपश्चिम प्रदेशको तराई क्षेत्र मुख्यतया सफा रहेको छ भने देशका बाँकी भेगमा आंशिक बदली छ। कोशी, बागमती र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा हल्का वर्षा भइरहेको छ महाशाखाले जनाएको छ।

    यसैगरी महाशाखाका अनुसार, आज दिउँसो देशभर साधारणतया बदली रहनेछ। पहाडी तथा हिमाली क्षेत्रका केही स्थानमा मेघगर्जन तथा चट्याङसहित मध्यम वर्षा तथा हिमपात हुने सम्भावना रहेको छ भने तराईका केही स्थानमा पनि मेघगर्जन तथा चट्याङसहित मध्यम वर्षा हुन सक्ने महाशाखाले जनाएको छ। कोशी प्रदेशका पहाडी र तराई क्षेत्रका एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। कोशी प्रदेशको तराई र मधेस प्रदेशका केही स्थानमा हुरी चल्न सक्ने पूर्वानुमान गरिएको छ।

    आज राति पनि देशभर साधारणतया बदली रहनेछ। कोशी प्रदेशका धेरै स्थान तथा बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी क्षेत्रका केही स्थान र हिमाली क्षेत्रका थोरै स्थानमा मेघगर्जन तथा चट्याङसहित मध्यम वर्षा तथा हिमपात हुने सम्भावना छ। कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी क्षेत्रका केही तथा हिमाली क्षेत्रका एक–दुई स्थानमा पनि मेघगर्जन तथा चट्याङसहित मध्यम वर्षा तथा हिमपात हुन सक्ने महाशाखाले जनाएको छ।

    त्यसैगरी, मधेस प्रदेश तथा बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका केही स्थानमा मेघगर्जन तथा चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी प्रदेशका पहाडी र तराई भेगका केही स्थानमा भारीदेखि धेरै भारी वर्षा तथा मधेस प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना छ।

    कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराई क्षेत्र तथा मधेश प्रदेशका केही स्थानमा हुरी चल्ने सम्भावना छ। महाशाखाले हुरी चल्ने तथा भारी वर्षा हुने पूर्वानुमान गरिएका स्थानका सर्वसाधारणलाई आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ।