सरकारले सुकुम्वासीलाई होल्डिङ सेन्टर खाली गर्न थप एक हप्ताको समय दियो - Chaitanya News
  • 2026-06-26
  • 11:04:37
  • शुक्रबार,आषाढ १२, २०८३
  • सरकारले सुकुम्वासीलाई होल्डिङ सेन्टर खाली गर्न थप एक हप्ताको समय दियो

    सरकारले सुकुम्वासीलाई होल्डिङ सेन्टर खाली गर्न थप एक हप्ताको समय दियो

    काठमाडौँ–सरकारले सुकुम्वासीहरुलाई होल्डिङ सेन्टर खाली गर्न थप एक हप्ता समय दिएको छ।

    यसअघि असार १२ गतेभित्र होल्डिङ सेन्टर छाड्न भनेको सरकारले आज एक सूचना जारी गर्दै १९ गते सम्मको समय दिएको हो।

    यसअघि असार ९ गते अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिले सूचना जारी गरी असार १२ गतेभित्र होल्डिङ सेन्टर छाड्न निर्देशन दिएको थियो। आज फेरि समितिले सूचना जारी गरी उक्त समय अवधि छोटो भएको भन्ने गुनासोको आधारमा म्याद थपिएको जनाएको छ।

    आज जारी सूचनामा लेखिएको छ, ‘यस समितिको पूर्व सूचनाअनुसार २०८३–०३–१२ भित्रमा होल्डिङ सेन्टरहरूमा बसोबास गर्नेहरूलाई स्व व्यवस्थापन गर्न भनी जानकारी गराइएकोमा घर भाडा प्राप्त गर्ने समय अवधि छोटो भएको भन्ने गुनासो समेतको अवस्थालाई ध्यानमा राखी २०८३–०३–१९ गतेसम्म समयसीमा थप गरिएको व्यहोरा जानकारी गराइन्छ।’

    सुकुम्वासीहरूले आफूहरूलाई जबरजस्ती ननिकाल्न र दीर्घकालीन व्यवस्थापन गर्नुपर्नेलगायतका माग गर्दै होल्डिङ सेन्टरबाट निकालिए पुरानै ठाउँमा छाप्रो हालेर बस्ने अडान लिँदै आएका छन् ।

    गत जेठ ५ को मन्त्रिपरिषद् बैठकले काठमाडौं उपत्यकाबाट विस्थापित सुकुम्वासीका लागि पुनस्स्थापनाका लागि एकमुष्ट २५ हजार खर्च उपलब्ध गराउने निर्णय गरेको थियो।

    त्यस्तै वैकल्पिक बसोबासको व्यवस्था आफैँ गर्न ५ सदस्य भएको परिवारलाई प्रति महिना १५ हजार र सोभन्दा बढी सदस्य भएकालाई प्रतिसदस्य थप २ हजारका दरले ३ महिनाका लागि बसोबास व्यवस्थापन खर्च उपलब्ध गराउने निर्णय सरकारको छ।

    रकम प्राप्तिका लागि असार १५ सम्म बैंक खाता नम्बरसहित निवेदन दिन समितिले सूचनामा आग्रह गरेको छ।