काठमाडौँ– सशस्त्र प्रहरी बल नेपालले सीमा सुरक्षा र सीमा नाकामा यात्रुको आवतजावतलाई थप व्यवस्थित तथा सहज बनाउन मुख्य नाकाहरूमा ‘बोर्डर इन्ट्रयाक्सन टिम’ (बीआईटी) गठन गर्ने तयारी गरेको छ।
सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले आज सशस्त्र प्रहरी प्रधान कार्यालय हल्चोकमा सञ्चारकर्मीसँगको भेटमा सीमा सुरक्षा, विपद् व्यवस्थापन र राजस्व चुहावट नियन्त्रणमा संगठनले प्रभावकारी रूपमा काम गरिरहेको बताएका हुन्।
उनले मनसुनजन्य विपद् व्यवस्थापनका लागि पूर्वतयारी तथा प्रतिकार्य योजना निर्माण गरी सम्बन्धित निकायहरूसँग समन्वयमा काम सुरु भइसकेको जानकारी दिए। सीमा सुरक्षालाई थप व्यवस्थित बनाउन प्रयास भइरहेको उल्लेख गर्दै उनले सीमा अपराध नियन्त्रणमा जनशक्ति, प्रविधि र परिचालनका चुनौती भए पनि संगठन परिणाममुखी कार्यसम्पादनमा केन्द्रित रहेको बताए।
महानिरीक्षक पौडेलले राजस्व चुहावट नियन्त्रण सरकारको उच्च प्राथमिकतामा रहेकाले त्यसलाई आत्मसात् गर्दै संगठन परिचालित भएको बताए। सशस्त्र प्रहरीसम्बन्धी कानुन निर्माण प्रक्रिया अगाडि बढिरहेको उल्लेख गर्दै उनले त्यसबाट कानुनी तथा नीतिगत स्पष्टता आउने विश्वास व्यक्त गरे।
संगठनभित्र आर्थिक पारदर्शिता र सुशासनलाई प्राथमिकता दिइएको बताउँदै उनले आर्थिक अनियमितताप्रति शून्य सहनशीलताको नीति अवलम्बन गरिएको स्पष्ट पारे।
“नयाँ संरचना थप्नेभन्दा पनि हालको व्यवस्थाबाट उत्कृष्ट नतिजा निकाल्ने दिशामा हामी केन्द्रित छौँ,” उनले भने, “सरकार र जनताको अपेक्षा पूरा गर्न सशस्त्र प्रहरी बल प्रतिबद्ध छ।”
पौडेलका अनुसार संगठनको नीति, अनुसन्धान तथा योजना निर्देशनालय गठन गरी कार्यसम्पादनलाई थप व्यवस्थित बनाउने काम सुरु गरिएको छ। निर्देशनालयले संगठनको दीर्घकालीन विकास, अनुसन्धान र योजनामा केन्द्रित भएर काम गर्नेछ।
सीमा नाकामा समन्वय र सहजीकरण बढाउने उद्देश्यले प्रस्ताव गरिएको बीआईटी संयन्त्र अन्तिम चरणमा पुगेको उनले जानकारी दिए। उनका अनुसार यसले सीमामा रहेका समकक्षी सुरक्षा निकायसँग समन्वय बढाउनुका साथै यात्रुको आवतजावत सहज बनाउन र अवाञ्छित गतिविधि नियन्त्रणमा सहयोग पुर्याउनेछ।
“दैनिक हजारौँ नागरिकको आवतजावत हुने नाकाहरूमा सहजीकरण, समन्वय र सुरक्षा व्यवस्थापनलाई प्रभावकारी बनाउन यो अवधारणा अघि सारिएको हो,” उनले भने, “प्रारम्भिक चरणमा केही नाकामा पाइलट परियोजनाका रूपमा लागू गरिनेछ।”