काठमाडौँ– न्याय परिषद् सचिवालयले उच्च अदालत तथा जिल्ला अदालतमा कार्यरत भई निर्धारित कार्यअवधि पूरा गरेका न्यायाधीशहरूको सरुवा सिफारिस प्रक्रियाका लागि सम्बन्धित न्यायाधीशलाई विवरण उपलब्ध गराउन आग्रह गरेको छ।
हिजो (सोमबार) सचिवालयले एक सूचना जारी गरी उच्च अदालत तथा जिल्ला अदालतमा कार्यरत रही २०८३ असार मसान्तसम्म हिमाली क्षेत्रमा एक वर्ष र अन्य क्षेत्रमा १८ महिनाको कार्यअवधि पूरा गर्ने न्यायाधीशहरूको सरुवा सिफारिस प्रस्ताव प्रयोजनका लागि विवरण संकलन सुरु गरिएको जनाएको छ।
सूचनाअनुसार सम्बन्धित न्यायाधीशहरूले सचिवालयले उपलब्ध गराएको गुगल फाराममार्फत आवश्यक विवरण भर्नुपर्नेछ। फाराम भर्ने अन्तिम मिति २०८३ असार १५ गते तोकिएको छ।
न्याय परिषद् सचिवालयले उच्च अदालतका न्यायाधीश र जिल्ला अदालतका न्यायाधीशका लागि छुट्टाछुट्टै फारामको व्यवस्था गरेको जनाएको छ।
सचिवालयका अनुसार प्राप्त विवरणका आधारमा सरुवा सिफारिससम्बन्धी प्रस्ताव तयार गरिनेछ। विशेष परिस्थितिमा तोकिएको कार्यअवधि पूरा नभएका न्यायाधीशले पनि अवस्था पुष्टि हुने कागजात संलग्न गरी फाराम भर्न सक्ने व्यवस्था गरिएको छ।
न्यायाधीशको सरुवा तथा पदस्थापनासम्बन्धी सिफारिस न्याय परिषद्को अधिकार क्षेत्रभित्र पर्ने व्यवस्था छ।
![]()