सेनेगललाई हराउँदै नर्वे नकआउट चरणमा प्रवेश - Chaitanya News
  • 2026-06-23
  • 11:12:36
  • मंगलबार,आषाढ ०९, २०८३
  • सेनेगललाई हराउँदै नर्वे नकआउट चरणमा प्रवेश

    सेनेगललाई हराउँदै नर्वे नकआउट चरणमा प्रवेश

    काठमाडौँ– सेनेगललाई हराउँदै नर्वे फिफा विश्वकप २०२६ को नकआउट चरणमा प्रवेश गरेको छ।

    न्यूयोर्क न्यू जर्सी स्टेडियममा मंगलबार बिहान भएको खेलमा सेनेगललाई ३–२ ले हराउँदै नर्वे २८ वर्षपछि नकआउट चरण प्रवेश गरेको हो।

    खेलको ४३औं मिनेटमा मार्कस मार्कस होल्मग्रेन पेडरसनले गोल गर्दै नर्वेलाई पहिलो अग्रता दिलाएका थिए। नर्वेका एर्लिङ हाल्यान्ड ४८औं मिनेटमा गोल गर्दै टोलीलाई २ गोलको अग्रता दिलाए।

    ५३औं मिनेटमा इस्माइला सारले गोल गर्दै सेनेगललाई खेल फर्काउने कोसिस गरे। तर, ५८औं मिनेटमा हाल्यान्डले व्यक्तिगत दोस्रो गोल गर्दा नर्वेको अग्रताको दुरी बढाए।

    दोस्रो हाफको इन्जुरी समयमा इस्माइलाले व्यक्तिगत दोस्रो गोल गर्दे खेलमा फर्किएपनि सफल हुन सकेनन्।

    २८ वर्षपछि विश्वकपमा खेलेको नर्वे एक खेलअगावै नकआउट चरण प्रवेश गरेको हो। नर्वेले पछिल्लोपटक सन् १९९८ मा भएको विश्वकप खेलेको थियो। त्यसयता छनोट हुन सकेको थिएन।

    जितपछि नर्वे ६ अंकसहित समूह ‘आइ’ को दोस्रो स्थानमा छ। समान ६ अंक रहेको फ्रान्स गोलअन्तरका आधारमा शीर्ष स्थानमा छ। नर्वे र फ्रान्सले नकआउट चरणमा स्थान पक्का गरिसकेका छन्। दुवै खेलमा पराजित भएका सेनेगल र इराक अंकविहीन छन्।