सुर्खेत– कर्णाली प्रदेशमा रहेका तीन वटा यातायात कार्यालयहरूले चालु आर्थिक वर्षको ११ महिनामा ३१ करोडभन्दा बढी राजस्व संकलन गरेका छन्।
कर्णालीमा सुर्खेत, जुम्ला र चौरजहारी गरी तीन वटा यातायात कार्यालय छन्।
यी कार्यालयले चालु आर्थिक वर्ष २०८२–०८३ को जेठ मसान्तसम्ममा ३१ करोड २३ लाख ५१ हजार ८७० रुपैयाँ राजस्व संकलन भएको प्रदेशको भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालयले जनाएको छ। मन्त्रालयका प्रवक्ता रमेश सुवेदीका अनुसार जसमध्ये जेठमा मात्रै सबै कार्यालयहरूबाट कुल २ करोड ४७ लाख ४४ हजार ५०४ रुपैयाँ राजस्व संकलन भएको छ।
तीन वटामध्ये सबैभन्दा धेरै यातायात व्यवस्था कार्यालय सुर्खेतले ११ महिनामा २६ करोड ७० लाख १५ हजार ३४४ रुपैयाँ राजस्व संकलन गरेको छ, जुन कुल राजस्वको ८० प्रतिशतभन्दा धेरै हिस्सा हो। यस्तै, रुकुम पश्चिमको चौरजहारीमा रहेको यातायात व्यवस्था सेवा कार्यालयले ३ करोड ५ लाख ६३ हजार ३२१ रुपैयाँ राजस्व संकलन गरेको छ भने यातायात व्यवस्था सेवा कार्यालय जुम्लाले १ करोड ४७ लाख ७३ हजार २०५ रुपैयाँ राजस्व संकलन गरेको प्रवक्ता सुवेदीले बताए।
सवारी साधन कर नै मुख्य स्रोत
कर्णालीमा यातायात क्षेत्रमा सवारी साधन नै करको मुख्य स्रोत मानिएको छ। कुल राजस्वको झण्डै ८० प्रतिशत हिस्सा सवारी साधन करले ओगटेको छ। सवारी साधन कर शीर्षकमा मात्रै जेठ मसान्तसम्म २४ करोड ९७ लाख बराबर सवारी साधन कर मात्र संकलन भएको प्रवक्ता सुवेदी बताउँछन्।
जसमा सुर्खेतले मात्रै २१ करोड ५६ लाख ९३ हजार, चौरजहारीले २ करोड ६६ लाख ५१ हजार र जुम्लाले ७३ लाख ६५ हजार संकलन गरेका छन्। दोस्रोमा पत्र, सवारी दर्ता, किताब सम्बन्धी दस्तुर शीर्षकमा राजस्व संकलन भएको छ। यो शीर्षकमा ११ महिनाको अवधिमा ५ करोड भन्दा धेरै संकलन भएको छ। ‘यसमा पनि सुर्खेतको हिस्सा मात्रै ४ करोड २८ लाख ८१ हजार रहेको छ।
यस्तै, चौरजहारीले यो शीर्षकमा ५५ लाख ९० हजार र जुम्लाले ३८ लाख ७८ हजार संकलन गरेका छन्।
यातायात क्षेत्रको आम्दानी (पटके तथा रुट परमिट) शीर्षकमा झण्डै १ करोड बराबर राजस्व संकलन भएको छ। यसमा चौरजहारीले एक रुपैयाँ पनि राजस्व उठाउन सकेको छैन। सुर्खेत कार्यालयले ८० लाख ८३ हजार र जुम्ला कार्यालयले १८ १६ हजार संकलन गरेका छन्।
प्रशासनिक दण्ड, जरिवाना र जफत शीर्षकमा हालसम्म जम्मा ३ लाख ९१ हजार बराबर राजस्व संकलन भएको मन्त्रालयले जनाएको छ। गत वर्ष असार मसान्तसम्म कुल ३१ करोड ३६ लाख बराबर राजस्व संकलन भएकोमा यो वर्ष अन्तिममा थोरै बढ्ने अनुमान गरिएको छ।