काठमाडौँ– सम्पत्ति शुद्धीकरण निवारणसम्बन्धी अन्तर्राष्ट्रिय संस्था फाइनान्सियल एक्सन टास्क फोर्स (एफएटीएफ) ले नेपाललाई सम्पत्ति शुद्धीकरणको ‘ग्रे लिस्ट’ को सूचीमा कायमै राखेको छ। विश्वव्यापी रूपमा सम्पत्ति शुद्धीकरण र आतंकवादी क्रियाकलापमा वित्तीय लगानी निवारणको अवस्थाबारे आफ्नो पछिल्लो प्रतिवेदन सार्वजनिक गर्दै एफएटीएफले नेपाललाई सोही सूचीमा निरन्तरता दिएको हो।
फ्रान्सको पेरिसमा सम्पन्न एफएटीएफको पूर्ण बैठकपछि शुक्रबार जारी गरिएको प्रतिवेदनअनुसार नेपाल अझै पनि उच्च निगरानी सूची अर्थात् ‘ग्रे लिस्ट’ को सूचीमै कायम रहेको जनाइको छ।
एफएटीएफ सम्पत्ति शुद्धीकरण तथा आतंकवादी गतिविधिमा लगानी रोक्न संसारभरका मुलुकहरूले खडा गरेको अन्तर सरकारी निकाय हो। यसले सम्पत्ति शुद्धीकरणको जोखिममा रहेका मुलुकलाई ‘ब्ल्याक लिस्ट’ तथा ‘ग्रे–लिस्ट’मा राख्दै आएको छ।
एफएटीएफले सम्पत्ति शुद्धीकरण तथा आतंकवादमा लगानी नियन्त्रणमा कुनै पनि मुलुकको अवस्थालाई प्रभावकारितासम्बन्धी ११ सूचक तथा प्राविधिकतर्फ ४० सूचकमा मूल्यांकन गर्ने गर्छ। यसअघि सन् २००८ मा नेपाल यस्तै जोखिमपूर्ण सूची (ग्रे लिस्ट)मा परेको थियो। सन् २०१४ मा मात्रै नेपाल त्यो सूचीबाट स्तरोन्नति भएको थियो।
सन् २०१२ मा नेपाल झण्डैझण्डै ब्ल्याक लिस्टमा परेको थियो। त्यसबेला अन्तर्राष्ट्रिय मुद्राकोष (आईएमएफ)ले नेपालमा हामी सुधार गराउँछौं, ब्ल्याकलिस्ट नराख भन्दै प्रतिबद्धता गरेपछि त्यसबेला नेपाल जोगिएको थियो।
सोहीअनुसार आईएमएफको सल्लाहमा नेपालले नीतिगत सुधार गरेपछि नेपाल ब्ल्याक लिस्टबाट जोगिँदै सन् २०१४ मा ग्रे लिस्टबाट स्तरोन्नति पनि भएको थियो। एफएटीएफले खैरो सूचीबाट बाहिर निस्किनका लागि नेपाललाई कानुन कार्यान्वयन, वित्तीय अनुगमन प्रणाली, जोखिमयुक्त क्षेत्र नियन्त्रण लगायतका क्षेत्रमा सुधार गर्न सुझाव दिएको छ।