काठमाडौँ– फिफा विश्वकप २०२६ मा दुई पटकको विश्वविजेता उरुग्वे नवप्रवेशी टोली केप भर्डेसँग बराबरीमा रोकिएको छ।
अमेरिकाको फ्लोरिडास्थित मियामी स्टेडियममा भएको खेलमा उरुग्वे केप भर्डेसँग २–२ को बराबरीमा सकिएको हो। केप भर्डेले यसअघि स्पेनसँग बराबरी खेलेको थियो।
दुवै टोलीले आफूले लिएको अग्रता जोगाउन नसक्दा बराबरीमा रोकिन पुगे। केप भर्डेले उरुग्वेविरुद्ध सुरुवाती अग्रता लिएको थियो।
२१औं मिनेटमा केभिन पिनाले फ्रिकिकमार्फत गोल गर्दै केप भर्डेलाई ऐतिहासिक अग्रता दिलाएका थिए। त्यसपछि ४४औं मिनेटमा म्याक्सी अराजोले उरुग्वेका लागि बराबरी गोल फर्काए।
पहिलो हाफको इन्जुरी समयमा अगस्टिनले गोल गर्दै उरुग्वेलाई अग्रतामा पुर्याएका थिए। ६१औं मिनेटमा उरुग्वेका डिफेन्डर र गोलकिपरको तालमेल नमिल्दा केप भर्डेका हेलियो भारेला गोल गर्दै बराबरी गोल फर्काए।
त्यसपछि दुवैतर्फबाट गोल हुन सकेन। बल पोजिसनमा केप भर्डेभन्दा करिब दोब्बर समय रहेपनि उरुग्वेले गोल भने गर्न सकेन। उरुग्वेले सर्ट पनि केप भर्डेभन्दा धेरै प्रहार गर्यो।
यो नतिजासँगै समूह ‘एच’ मा उरुग्वे र केप भर्डेले २ खेलबाट समान २ अंक जोडेका छन्। उक्त समूहमा २ खेलबाट ४ अंक जोड्दै स्पेन शीर्ष स्थानमा छ। साउदी अरेबियाले एक अंक जोडेको छ।